जनरल इन्सुरेन्सको आइपीओ मंगलबार (असोज २० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०.३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । बाँडफाँटको सम्पुर्ण जानकारी एनआइबीएल एस क्यापिटलको फेसबुक पेजबाट देखाइनेछ । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट आज (असोज १८ गते) सम्पन्न भएको छ ।
जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो । जसअनुसार कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४%सेयर कर्मचारीले छुट्याएको थियो । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५% म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
जसमा ८ लाख २० हजार ४३१ जनाले २ करोड २६ लाख ३५ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब २६ करोड ३५ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो मागको तुलनामा ८.२९ गुणा बढी हो । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं १ हात्तीसारमा रहेको छ । यस्तै, यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् सेवा प्रदान गर्दै आएको छ ।
