नेपालमा कोभिड-१९ को संक्रमण दर बढदो छ। संक्रमण पुष्टि भएमध्ये धेरैजसो काठमाडौं उपत्यकाकै छन्। हाल काठमाडौंमा मात्रै २४ हजार ४६ संक्रमित छन् भने उपत्यकामा २९ हजार ५ सय १७। देशभर संक्रमित संख्या आइतबारसम्म ८६ हजार ८ सय २३ छन्।
ढिलो गरी संक्रमण भित्रिएको नेपालमा पछिल्ला दिन उच्च दरको संक्रमण बढ्दा ठूलो क्षति निम्त्याउन सक्ने जनस्वास्थ्यविदहरुले चेतावनी दिएका छन्। सरकारले तत्काल बढ्दो संक्रमणलाई न्यूनीकरण गर्नै नसक्ने उनीहरुको तर्क छ।
लक्षण देखिएकालाई मात्रै परीक्षण गर्दा बढ्यो संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका, चितवन, मोरङ र सुर्खेतलाई संक्रमणका हिसाबले उच्च जोखिममा राखेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जोखिम क्षेत्रमा जेष्ठ नागरिकलाई घरबाहिर नआउन एक साताअघि असोज ११ गते आग्रह गरेका थिए।
उनले काठमाडौं उपत्यकामा घना बस्ती भएकाले संक्रमण बढेको बताएका थिए। घना बस्ती भएकाले संक्रमण बढेको सरकारले बताए पनि विज्ञहरुको भने फरक मत छ।
लकडाउन र निषेधाज्ञाका बेला तथा हटाइएपछिको अवस्थामा पनि जनस्वास्थ्यका मापदण्ड पालन नभएकाले संक्रमण बढेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। उनले सरकारको कोरोना सम्बन्धी बनाएको मापदण्डले पनि संक्रमण बढेको बताए।
‘हामीले लक्षण नदेखिएकालाई परीक्षण नै नगर्ने भन्ने व्यवस्था गर्यौं त्यसो गर्दा संक्रमित क्षेत्रबाट आएकाहरुबाट जोखिम बढ्यो र हाल संक्रमणदर उच्च छ,’ उनले भने। उपत्यका बाहिरबाट आएका मानिसमा लक्षण नदेखिएको भए पनि उनीहरु हटस्पटबाट आएकाले उनीहरुले संक्रमणलाई ब्यापक बनाएको पुनले बताए।
उनले काठमाडौं उपत्यकामा संक्रमण बढनुको अर्को कारण जनस्वास्थ्य मापदण्ड पालनमा कडाइ नगरिनु भएको बताए। पढेलेखेका र जान्ने बुझ्नेले नै संक्रमणको जोखिम बढाइरहेको उनको भनाइ छ। ‘सबै कुरा जानेको छ। समाचारमा पनि पढेकै छ यसबारेमा तर सचेत हुने बेलामा मान्छे हुनै खोज्दैन,’ उनले भने।
सरकार जरिवाना गर्ने मुडमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना गर्ने निर्णय भएको बताए। हालसम्म पालना नगरेकैले संक्रमण ब्यापक भएको भन्दै जरिवाना गर्ने निर्णय पुगेको उनले बताए। ‘जरिवानाको दर रेट तोकी प्रस्ताव पठाउने निर्णय भएको छ,’ गौतमले भने। उनले कारवाही गर्न सकारी निकायलाई तयार रहन उनले निर्देशन दिए।
सरकारले दसैंका बेलामा संक्रमण बढ्न सक्ने भएको भन्दै जहाँ छौं त्यही दसैं मान्न आग्रह गरेको छ। अहिलेको बेला हिडडुल गर्दा संक्रमण बढने भएकाले यात्रा नगर्न सरकारले आग्रह गरेको हो।
दसैंमा कस्तो रहला संक्रमण?
पुनले दसैंमा काठमाडौं उपत्यका सुनसान हुने भएकाले संक्रमण घट्न सक्ने बताए। तर, माइक्रोबायोलोजिष्ट डा. प्रकाश घिमिरेले यही बेलामा संक्रमण अहिलेको भन्दा धेरै बढ्ने बताए।
‘दसैंको बेलामा मुभमेन्ट बढ्छ। अहिलेको भन्दा संक्रमण त कयौं गुणा धेरै हुनेवाला छ,’ उनले भने।
सरकारले दसैंको बेला हुने मुभमेन्ट रोक्न नसक्ने उनको तर्क छ। सरकारले अब संक्रमण रोक्न नसक्ने घिमिरेले बताए। समुदाय संक्रमणको चरणमा नागरिक आफैं सचेत हुनुपर्ने भए पनि त्यस्तो अवस्था नरहेकाले संक्रमणको दर अझै बढने उनले तर्क गरे। कहाँ धेरै संक्रमित छन् र कस्तो रणनीति अपनाउने भन्नेमै सरकार अलमलमा रहेको उनको बुझाई छ। ‘सिधा भन्ने हो भने सरकारकाो लापरवाहीले हो। सर्भिलियन्स नै छैन। कहाँ के भइरहेको छ कसरी थाहा हुन्छ?,’ उनले भने।
सरकार र जनता दुवैले मानेनन्
घिमिरेका अनुसार सरकार र नागरिक दुवैले विज्ञहरुको सुझावलाई बेवास्ता गरेका छन्। सरकारले विज्ञका सुझाव कार्यान्वयन गर्न सकेन भने नागरिकले सरकारले भन्दा टेरेनन्। ‘दुवैले मानेनन्। सरकारले सुझावहरु राम्ररी सुनेन। कार्यन्वयन गर्न खोज्दा जनताले टेरेन,’ उनले भने। जनस्वास्थ्यका मापदण्ड पालनमा कमजोरीकै कारण नेपालमा संक्रमणले अझै ब्यापक रूप लिने र त्यसले ठूलो क्षति हुनसक्ने उनको भनाइ छ।
कसरी कम गर्न सकिन्छ?
सरकारले अब सर्भिलियन्समा ध्यान दिएमा संक्रमण घटाउन सकिने उनको तर्क छ। कहाँ संक्रमण के कस्तो हिसाबले भइरहेको छ भन्ने यथेष्ट जानकारी राख्न सरकारलाई सुझाव पनि दिए घिमिरेले।
‘सबै तयारी गरेर मात्रै हुँदैन। कहाँ संक्रमण कस्तो छ, बढिरहेको छ कि छैन ? यसको जानकारी राख्नुपर्छ र त्यो अनुसारका कदम चालेमा कम गर्न सकिन्छ,’ उनले भने।
संक्रमण कम गर्न सकिनेमा डा. पुन नागरिक सचेत भएमात्रै सम्भव भएको तर्क गर्छन्। उनी जनस्वास्थ्यका मापदण्ड पालना गराउन त्यति ठूलो विषय नभए पनि मान्छेले आफैंले नमानेकाले संक्रमण बढेको बताए।
‘मान्छे महामारीको बेला अरुको मुख ताकेर मात्रै होइन आफैं पनि सचेत हुनुपर्छ। आफैंले पालना गर्ने हो,’ उनले भने।
