चितवन । आज असोज २४ गते, माडीका शिक्षासेवी, समाजसेवी र वामपन्थी नेता दिवाकर भुसालको १७औं स्मृति दिवस, भुसालको स्मृति ग्रन्थमाथि अन्तरसंवाद कार्यक्रम तथा भर्चुअल स्मृतिसभा आयोजना गरी मनाइँदै छ ।
पिता चन्द्रकान्त भुसाल र माता जमुना भुसालको कान्छो छोराको रूपमा २००६ साल कार्तिक २० गते तात्कालीन त्रिवेणी गा.वि.स. (हाल पैंयु गाउँपालिका) स्थित बेउलीबास, पर्वतमा जन्मनुभएका दिवाकर भुसालले बि.सं. २०२६ सालमा तात्कालीन माडी ईलाका इञ्चार्ज रामलखन महतोबाट नेकपाको सदस्यता लिनुभएको थियो । उहाँ, २०२६ सालमा माडी ईलाका समितिको सेक्रेटरी, २०२९ सालमा जिल्ला समिति सदस्य र २०३० देखि २०३४ सालसम्म किसान संगठन चितवनको अध्यक्ष, २०३५ देखि २०३८ सम्म नेपाल मजदुर किसान संगठनका जिल्ला सदस्य, २०३८ साल पौष १२ र १३ मा भएको प्रथम जिल्ला अधिवेशनबाट सर्वहारावादी श्रमिक संगठनका प्रथम जिल्ला अध्यक्ष र २०४४ सालमा सो पार्टीको केन्द्रीय सदस्य रहनुभयो । त्यसैगरी २०५४ मा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय कोषाध्यक्ष हुनुभएका भुसाल संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चाबीच एकता भई निर्माण भएको जनमोर्चा, नेपालको पनि केन्द्रीय कोषाध्यक्ष रहनुभएको थियो ।
२०२८ देखि ३५ सालसम्म चितवनमा चलेका हरेकजसो सुकुम्बासी, ब्याजविरोधी आन्दोलन, बाली काट्ने आन्दोलन, मोहीहरूको आन्दोलन, रक्सी विरोधी आन्दोलन, गैंडा गस्तीले गाउँलेमाथि गरेको अत्याचारको विरुद्धको आन्दोलन र ०३३ सालको भूमिकरको विरुद्धको आन्दोलनमा उहाँको प्रत्यक्ष नेतृत्व रहेको थियो । माडी क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद, बाटोघाटो पुलपुलेसा लगायतका विकास निर्माणको काममा उहाँको विशेष योगदान रहेको थियो । सामाजिक, शैक्षिक र खेलकूदको क्षेत्रमा प्रेरक व्यक्तित्व रहनुभएका स्वर्गिय भुसालको नाउँबाट हाल माडीमा एक प्राविधिक शिक्षालय, एक विद्यालय र एक रेडियो स्टेशन सञ्चालनमा रहेको छ । गतबर्ष आजकै दिनमा दिवाकर बाटिकामा उहाँको शालिकको अनावरण एवं दिवाकर स्मृति ग्रन्थको लोकार्पण गरिएको थियो ।
Source स्वदेश एफ एम
