एक वर्ष भयो – विश्वले महाव्याधि निर्देशित लकडाउन खेप्न सुरु गरेको । यो अभूतपूर्व कठिन अवधिमा विश्वले राजनीतिक उथलपुथल मात्र होइन, यस ब्रम्हाण्डका धनाढ्यहरुको धन अविश्वसनीयरुपमा बढेको पनि देख्यो ।
संसारका प्रमुख धितोपत्र बजार (स्टक मार्केट) हरु तीव्ररुपमा उकालो लागिरहेका छन् । खासगरी यसले गर्दा नै भएका हुन् धनाढ्यहरु झन् धनी।
विश्वको ध्यान खिचेका ठूला कम्पनीहरुमा उनीहरुले होल्ड गरेको सेयर (स्वामित्व) को मूल्य उकालो लाग्दा यसरी झन् धनी भएका संसारका अर्बपतिहरुको सम्पत्ति सन् २०२० को करिब एक वर्षमा कुल १९ खर्ब (१.९ ट्रिलियन) अमेरिकी डलरले बढेको छ ।
डलर अर्बपतिहरुको सम्पत्तिको लेखाजोखा गर्दै आएको फोर्ब्सका अनुसार, संसारभरका २२०० हाराहारी अर्बपतिहरुसँग अहिले समग्रमा ११४ खर्ब (११.४ ट्रिलियन) डलर बराबरको सम्पत्ति छ । यो मूल्यांकन फोर्ब्सले गत शुक्रवार डिसेम्बर ११ को सेयर मूल्यका आधारमा गणना गरेको हो । यो गत वर्ष, सन् २०१९, डिसेम्बर ३१ को ९५ खर्ब डलरभन्दा २० प्रतिशतले बढेको छ ।
एक अर्ब डलरभन्दा बढी धनाढ्य अमेरिकीहरुले मात्र यस वर्ष कुल ४० खर्ब डलरबराबरको सम्पति थुपारेका छन् । यो करिब ६ सय अमेरिकी अर्बपतिहरुको सम्पत्ति हो, जुन २०२० मा ५६० अर्ब डलरले बढेको छ । यद्यपि पछिल्लो समय अमेरिकी स्टक मार्केटहरुमा भएको रेकर्ड वृद्धिले मात्र उनीहरुको सम्पत्ति बढ्नमा सघाएको हो । अन्यथा देशगत रुपमा हेर्ने हो भने अमेरिकी अर्बपतिहरुको कुल सम्पत्ति यो वर्ष १६ प्रतिशतले मात्र बढेको छ, जुन जर्मन अर्बपतिहरुको (१०% वृद्धि) भन्दा मात्र बढी हो ।
अमेरिकीहरुको सम्पत्ति वृद्धिमा सघाएका मुख्य अमेरिकी स्टक मार्केटहरु वर्षको अन्त्यतिर आइपुग्दा समग्रमा उल्लेख्य रुपमा बढेका छन् । गत मार्चको ‘कोभिड-क्र्यास’ का बाबजुद एस&पी ५०० सर्वकालिन उचाईनजिक पुग्दा यो यस वर्ष १३ प्रतिशतले बढेको छ भने नास्डाक ३८ प्रतिशतले उकालो लाग्यो ।
सन् २०२० मा सबैभन्दा धेरैले सम्पत्ति वृद्धि भने चिनियाँ अर्बपतिहरुको भएको छ । फोर्ब्सका अनुसार यस वर्ष चिनियाँ अर्बपतिहरुको सम्पत्ति पोहोरको भन्दा ७५० अर्ब डलर (६०%) ले बढेर २० खर्ब डलर पुगेको छ । फ्रेन्च अर्बपतिको सम्पत्ति पनि ९६ अर्बले बढ्दै कुल ५०० अर्बबराबर भएको बताइएको छ ।
भारतीय अर्बपतिहरुले देशगत रुपमा चौथो धेरै रकमले सम्पत्ति बढाएका छन् । उनीहरुले यो एक वर्षमा ७५ अर्ब डलरको सम्पत्ति थप गर्दै कुल ४८० अर्ब पुर्याएको फोर्ब्सले लेखेको छ । सम्पत्ति धेरैले बढाउने अर्बपतिहरुको देशगत सूचीमा भएका अग्रणी १० मध्येका अन्य मुलुकहरु हङकङ, जर्मनी, जापान, सिंगापुर, अष्ट्रेलिया र स्विडेन रहेका छन् ।
कोभिड-१९ को इपिसेन्टर चीनले आउटब्रेक लगत्तै कडा लकडाउनको नियम लगाएकाले यसको अर्थतन्त्र चाँडै पुनरुत्थान भएकाले पनि चिनियाँ अर्बपतिहरुले सम्पत्ति अन्य देशका धनाढ्यहरुको भन्दा समग्रमा धेरै बढाउन सकेको विश्लेषण गरिएको छ ।
चीनका उत्कृष्ट ३०० कम्पनीहरुलाई लिएर विश्लेषण गरिने सूचक ‘सीएसआई ३०० इन्डेक्स’ यो वर्ष १९ प्रतिशतले बढेको छ । यो वृद्धिबाटै कुल चार सय चिनियाँ अर्बपतिहरुको सम्पत्ति ७५० अर्बले बढेको बताइएको छ । यसमा ६७ जना हङकङका अर्बपतिहरु समेटिएका छैनन् जसले सन् २०२० मा ६० अर्ब डलरले आफ्नो सम्पत्ति बढाएर कुल ३८० अर्ब डलर पुर्यापएका छन् ।
चीनमा धनीहरुको भाग्य चम्काउन केही कम्पनीको प्राथमिक सेयर निष्काशन (आईपीओ) ले पनि मद्दत गरेको हो । उदाहरणका लागि – गत सेप्टेम्बरमा हङकङ स्टक मार्केटमा सूचीकृत हुनेगरी आईपीओ जारी गरेको जार तथा बोटल वाटर कम्पनी नोङ्फु स्प्रिङका संस्थापक सोही आईपीओका कारण ६२.५ अर्ब डलरबराबर सम्पत्तिको मालिक बने । जबकि वर्षको सुरुमा उनको सम्पत्ति दुई अर्ब डलरको मात्र थियो ।
यस्तै, इकमर्श साइट ‘पिनडुओडुओ’ का अध्यक्ष कोलिन झेङ ह्वाङ पनि यो वर्ष सर्वाधिक धन बढ्ने चिनियाँमध्येका हुन् जसको सम्पत्ति सन् २०२० मै ३२.४ अर्ब डलरले बढेर ५२ अर्ब पुगेको छ । अलिबाबा ग्रुपका सहसंस्थापक ज्याक माको पनि सम्पत्ति यो वर्ष करिब १९ अर्ब डलरले बढ्दै ६१.७ अर्ब डलरको भएको जनाइएको छ । अघिल्लो महिना एन्ट ग्रुपको विश्व रेकर्ड रकम (करिब ३५ अर्ब डलर) को आईपीओ निष्काशनलाई चीन सरकारले रद्द नगरिदिएको हुन्थ्यो भने त्यसबाट माको सम्पत्ति कम्तिमा २७ अर्ब डलरले बढ्ने अनुमान थियो ।
फ्रेन्च अर्बपतिहरुको कुल सम्पत्ति वृद्धिको आधाभन्दा बढी दुई धनाढ्यकै रहेको छ । जसमध्ये ‘लग्जरी गुड्स टाइटन’ को नामले चिनिने बर्नार्ड आर्नल्ट एक वर्षमा ३० प्रतिशत अर्थात् थप ३५ अर्ब डलरको धनी भएका हुन् । यस्तै, ब्युटि प्रडक्ट ब्रान्ड ‘लोरियल’की उत्तराधिकारी फ्रान्कोइस बेट्टेनकोर्ट मेयर्सको पनि सम्पत्ति १४ अर्ब डलरले बढेको छ । यसको मूल कारण लोरियलको सेयर मूल्य एक वर्षमा २५ प्रतिशतले वृद्धि हुनु रहेको बताइएको छ ।
झन् धनी हुने मात्र होइन, अर्बौं गुमाउने पनि छन्
पुग-अपुग एक वर्षकै अवधिमा सयौं अर्बले सम्पत्ति बढ्ने मात्र होइन केही देशका अर्बपतिहरुले सन् २०२० मै अर्बौं डलरबराबर गुमाएका पनि छन् । लामो समयदेखि आर्थिक वृद्धिमा संघर्षरत ब्राजिलमा बेन्चमार्क सूचक ‘बोभेस्पा इन्डेक्स’ एक वर्षयता ३ प्रतिशतले खस्किँदा यस मुलुकका ५० जना अर्बपतिहरु कुल १३ अर्ब डलरले गरिब भएका छन् । अमेरिकी डलरसँगको विनिमय दरमा ब्राजिलियन मुद्रा झन् कमजोर बन्दै जाँदा उनीहरुको सम्पत्तिमा थप धक्का लाग्ने क्रम जारी छ ।
यस्तै, थाइल्याण्डमा पनि स्थानीय सेयर बजार सूचक एसईटी इन्डेक्स वर्षभरमा करिब ७ प्रतिशतले ओरालो लाग्दा त्यहाँका ३० अर्बपतिहरुले कुल ६ अर्ब डलरबराबर गुमाएका छन् ।
सर्वाधिक धनीको सूचीमा अमेरिकी अर्बपतिकै वर्चश्व
यसका बाबजुद व्यक्तिगत रुपमा सर्वाधिक धनाढ्यको सूचीमा अमेरिकी अर्बपतिहरुकै वर्चश्व रहेको छ । संसारका २२०० हाराहारी अर्बपतिमध्ये ६ सयभन्दा बढी अमेरिकी नै छन् । धनाढ्यको सूचीमा शिर्ष १० मध्ये दोस्रो स्थानबाहेक लगातार आठौं नम्बरसम्म अमेरिकी अर्बपति छन् ।
सन् २०२० एलोन मस्कभन्दा ज्यादा राम्रो अरु कसैका लागि पनि भएन । स्पेश एक्स, टेस्ला, द बोरिङ कम्पनी लगायतका विश्व चर्चित कम्पनीहरुका संस्थापक मस्क गत वर्ष २७ अर्ब डलरका मालिक थिए । फोर्ब्सका अनुसार यो वर्ष मात्र उनको सम्पत्ति ११० अर्ब डलरले बढ्दा उनी संसारका तेस्रो धनाढ्यमा उक्लिएका छन् ।
टेस्लाको सेयर मूल्य ६३० % ले आकाशिँदा उनको सम्पत्ति एक वर्षमै यतिविघ्न बढेको हो । लगानीकर्ताहरुको टेस्लाको सेयरप्रति अधिक झुकाव र यही डिसेम्बर २१ मा यस विद्युतीय कार निर्माता कम्पनी एस&पी ५०० मा सूचीकृत हुने भनिएकाले पनि यसको मूल्य यसरी उक्लिएको बताइएको छ ।
दोस्रोमा रहेका फ्रेन्च अर्बपति बर्नार्ड आर्नल्ट तथा परिवारको सम्पत्ति १४८.५ अर्ब डलरबराबर पुगेको छ । उनको कम्पनी एलभीएमएचले खासगरी फेसन सेगमेन्टका विभिन्न विलासी प्रडक्टहरु उत्पादन गर्छ ।
यद्यपि, मस्कपछि वर्ष २०२० अमेजनका संस्थापक जेफ बेजोसका लागि सबैभन्दा फापसिद्ध बनेको छ । १८२ अर्ब डलर बराबरको सम्पत्ति पुगेका बेजोस एक वर्षमा थप ६७.५ अर्ब डलरले धनी भएका छन् । कोभिड-१९ ले धेरैजसो व्यापार-व्यवसाय संकटमा धकेलिए पनि यस महाव्याधिमा संसारभर नै घरबाटै किनमेल गर्ने प्रवृत्ति बढ्दा अनलाइन रिटेलर अमेजनको बिजनेशमा भने बढोत्तरी भयो । यसले अमेजनको सेयर मूल्य बढाउन मद्दत गर्यो जसको सबैभन्दा ठूलो लाभ बेजोसले पाएका हुन् ।
केही वर्षअघिसम्म लगातार सर्वाधिक धनाढ्यको पहिलो नम्बरमा रहेका माइक्रोसफ्टका संस्थापक विल गेट्स (११९.५ अर्ब डलर) यो वर्ष सम्पत्ति वृद्धिका बाबजुद दोस्रोबाट चौथो नम्बरमा झरेका छन् । यसपछि सूचीमा क्रमशः मार्क जुकर्वर्ग (१०१.३ अर्ब डलर), ल्यारी एलिसन (८४.९ अर्ब डलर), वारेन बफेट (८४.५ अर्ब डलर), ल्यारी पेज (७७.७ अर्ब डलर) लगायत छन् ।
भारतीय अर्बपति मुकेश अम्बानी पनि वर्ष २०२० मा ठूलो छलाङ मार्ने अर्बपतिमध्ये हुन् । उनी गुगलका सहसंस्थापक सर्जी ब्रिनलाई उछिन्दै करीब ७६ अर्ब डलरको सम्पत्तिसहित विश्वका नवौं धनी व्यक्ति बनेका छन् ।
