काठमाडौं। नेपालमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख ६८ हजार पुगेको छ। इन्टरनेट सेवा प्रदायकहरुले आक्रामक रुपमा फाइबर इन्टरनेट विस्तार गर्दा प्रयोगकर्ता थपिने क्रम बढ्दै गएको छ।
वायरलेस र केबल इन्टरनेटभन्दा फाइबर इन्टरनेटको गुणस्तर राम्रो हुने भएकाले पछिल्लो समय प्रयोगकर्ताहरु फाइबर इन्टरनेट तर्फ आकर्षित भइरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको मंसिरसम्मको एमआइएस प्रतिवेदनअनुसार एक महिनाको अवधिमा ३६ हजार आठ सय ७८ फाइबर इन्टरनेट ग्राहक थपिएका छन्।
कात्तिकमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख ३१ हजार तीन सय ५७ थियो। मंसिरमा यो संख्या बढेर १० लाख ६८ हजार दुई सय ३५ पुगेको प्राधिकरणले जनाएको छ। क्लासिक टेकको फाइबर इन्टरनेट प्रयोगकर्ता कात्तिकमा एक लाख २१ हजार आठ सय २७ रहेकोमा मंसिरमा आठ हजार नौ सय ३६ ले बढेर एक लाख २१ हजार आठ सय २७ पुगेको प्राधिकरणले जनाएको छ। क्लासिक टेकले कात्तिकमा नयाँ ग्राहक थप्न सकेको थिएन।
सबैभन्दा बढी फाइबर इन्टरनेट प्रयोगकर्ता रहेको वर्ल्डलिंकले भने यो अवधिमा ६३ सय २० जना थपेको छ। प्राधिकरणका अनुसार मंसिरमा वर्ल्डलिंकको फाइबर इन्टरनेट प्रयोगकर्ता चार लाख २६ हजार एक सय ३२ पुगेको जनाएको छ।
ग्राहक संख्याका हिसाबले वर्ल्डलिंकभन्दा पछि रहेको सुबिसुले पनि फाइबर प्रयोगकर्ताको संख्या बढाएको छ। कात्तिकको भन्दा मंसिरमा सुबिसुको फाइबर इन्टरनेट प्रयोगकर्ता ३२ सय ६८ ले बढेर एक लाख ३४ हजार सात सय ६६ पुगेको प्राधिकरणले जनाएको छ। कात्तिकमा सुबिसुसँग एक लाख ३१ हजार चार सय ९८ फाइबर ग्राहक थिए।
यस्तै, भायनेटले पनि २८ सय ९९ फाइबर इन्टरनेट प्रयोगकर्ता थपेको छ। मंसिरमा भायनेटको फाइबर इन्टरनेट प्रयोगकर्ता एक लाख २६ हजार ६ सय ११ पुगेको प्राधिकरणले जनाएको छ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि १९ सय १० ग्राहक थपेको छ। निजी इन्टरनेट सेवा प्रदायकभन्दा निकै पछि परेको छ। टेलिकमले आफ्नो फाइबर इन्टरनेट सेवाको विस्तारलाई आक्रामक रणनीतिसहित प्रस्तुत र प्रचार गर्न नसक्दा उपभोक्ताहरु निजी सेवा प्रदायककै सेवा रुचाइरहेका छन्।
