सेयर धितो ऋणमा कडाइका साथै लघुवित्तको सेयर खरीदमा नियन्त्रणमुखी नीति लिने भनेर मौद्रिक समीक्षाअघि हल्ला चलाइएको थियो।
ती सबै हल्लाको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खण्डन नै गरेका छन्। आइतबार साँझ गरिएको मौद्रिक समीक्षामा चैतसम्म ‘लोन टु भ्यालु रेसियो’ नचलाउने गभर्नर अधिकारीले ग्यारेन्टी गरेपछि बजारमा उछाल आएको हो।
नेप्से सूचक २५८६ अंक पुगेको छ। यो सेयर बजारको अहिलेसम्मकै उच्च बिन्दु हो। बजार पुँजीकरण ३४ खर्ब ८५ अर्ब पुगेको छ। एकै दिन एक खर्ब २४ अर्बले पुँजीकरण बढेको हो।
यस अघिको ऐतिहासिक उचाइ २५६२ अंक रहेकोमा सोमबार नेप्से करिब २६०० अंकको नजिक पुगेको हो। बजार बढ्दा कारोबार रकमसमेत साढे १० अर्ब रुपैयाँ पुगेको छ। तर कारोबार रकममा भने नयाँ रेकर्ड बन्न सकेन। यस अघि एकैदिन सर्वाधिक १० अर्ब ६२ करोड रुपैयाँसम्मको कारोबार भएको थियो।
सबै उपसूचक हरियो भएको बजारमा जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र उत्पादन समूहमा १०० अंक भन्दा बढीको वृद्धि भएको छ।
जीवन बीमा समूह ६९७ अंकले बढ्दा निर्जीवन बीमा समूह ४४७ अंक, लघुवित्त समूह ३७० अंक र उत्पादन समूह १५९ अंकले बढेको छ।
अन्य समूहमा पनि म्याचुअल फण्ड बाहेक सबैभन्दा कम होटल २४ अंकले बढेको छ। अन्य सबै उपसमूहको सूचक ३० देखि ७० अंकसम्मले बढेको छ।
बजार बढ्ने क्रममा ४० बढी कम्पनीमा त सकारात्मक सर्किट नै लागेको छ।
कारोबारमा आएका सबै लघुवित्तको सेयर मूल्य आकासिँदा सर्किट लाग्नेमा अधिकांश लघुवित्त कम्पनी रहेका छन्।
छिमेक लघुवित्त, ग्रामीण विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबि माइक्रो फाइनान्स, आएरएसडिसी लघुवित्त, उन्नती सुरक्षा लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्त, फवार्ड माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
सर्वाधिक कारोबार हुने कम्पनीमा भने वित्तीय क्षेत्रका कम्पनी अग्रस्थानमा छन्। निर्धन उत्थान लघुवित्तको मात्रै ७० करोड रुपैयाँको किनबेच हुँदा नबिल बैंकको ६८ करोड, छिमेक र डिप्रोक्स लघुवित्तको समान ४७/४७ करोड र ग्लोबल आइएमई बैंकको ४६ करोड रुपैयाँको किनबेच भएको छ।
२०५ कम्पनीको दुई करोड २५ लाख कित्ता सेयर ६८ हजार पटक किनबेच भएका छन्। २ कम्पनी पञ्चकन्या र रैराङ हाइड्रो पावरको मात्रै मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।
