बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको भन्दै काठमाण्डौबाट एक जनालाई पक्राउ गरिएको र प्रमाण नपुगेपछि छोडिएको खुलासा भएको छ ।
घटनामा प्रत्यक्ष संलग्नता नभएपनि घटना वा परिस्थितिका बारेमा जानकार हुनसक्ने भन्दै उनलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो । ती व्यक्ति धनगढीबाट काठमाडौँ पुगेलगत्तै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ । तर घटनामा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो ।
घटनाको २ हप्ता बित्नै लाग्दासम्म पनि ठोस रुपमा अपराधी पत्ता नलागे पनि शंकास्पद ४ जनाको क्लोज रिङ तयार भइसकेको छ । अपराधी ती ४ जनामध्ये एकजना हुनुपर्ने निष्कर्षमा प्रहरी पुगेको स्रोतले जनाएको छ । प्रहरीले केहीदिनभित्रै अपराधी सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ ।
यतिबेला ५ दर्जनभन्दा बढी प्रहरी कर्मचारीका साथ सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी बैतडीमा छन् ।
माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार घर नजिकै रहेको लवलेक जङ्गलमा मृत अवस्थामा शव फेला परेको थियो।
