नेकपाको सूर्य चिन्हबारे देउवाले पनि मुख खोले, ओली र प्रचण्डमध्ये कसलाई दिँदा ठीक हुन्छ भने ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपामा विवादित सूर्य चिन्हबारे निर्वाचन आयोगलाई एक सुझाव दिएका छन् । भैरहवामा आयोजित सभामा बोल्दै देउवाले सूर्य एउटै भएकोले दुई समूहमा विभाजित नेकपालाई दिन नसकिने भएकाले सूर्यबाहेक अरू चिन्ह आयोगले दिएर विवाद समाधान गर्न सक्ने सुझाव दिएका हुन् ।
देउवाले भने, ‘नेकपाभित्र चुनाव चिन्हमा झगडा छ। निर्वाचन आयोगले किन चुनाव चिन्ह दिइरहेको छैन ? ओलीले पाउने भए ओलीलाई नभए प्रचण्डलाई सूर्य चिन्ह दिए भइहाल्यो।’
यी दुई समूहमध्ये कसैले पनि सूर्य चिन्ह नपाउने भए आयोगले समयमै यसबारे छिनोफानो गरिदिनुपर्ने देउवाको भनाइ छ। ‘कसलाई सूर्य चिन्ह दिने भन्ने निर्णय अहिलेसम्म गर्न नसक्ने ?,’ निर्वाचन आयोगप्रति प्रश्न गर्दै देउवाले भने, ‘सबैभन्दा बेस त चुनाव चिन्ह अरू नै दिए भइहाल्यो। सूर्य एउटै छ, दुइटा पार्टीलाई एउटा चिन्ह कसरी दिने ? ’
सूर्य चिन्ह एउटा र नेकपाभित्र दुइटा समूह भएकोले सूर्य चिन्ह बाँड्न नमिल्ने देउवाले बताए।
