देउवाको ‘कित्ता क्लियर’– जेठसम्म चुनाव गर्नैपर्छ, आयोगले किन कार्यतालिका ल्याउँदैन ?
पार्टीका बहुसंख्यक नेताहरूले केपी ओली सरकारले गराउने भनेको चुनावप्रति सन्देह व्यक्त गरिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने ढिलोमा जेठ अन्तिमसम्म चुनाव हुनुपर्ने धारणा राखेका छन् ।
अहिलेसम्म निर्वाचन तालिका सार्वजनिक गर्न नसकेको भन्दै उनले निर्वाचन आयोगको आलोचना समेत गरे ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमवार रुपन्देहीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्रमा चुनाव भइसक्नुपर्ने बताएका हुन् ।
‘निर्वाचन आयोगले चुनावको कार्यक्रम किन बाहिर ल्याउँदैन ? चुनाव गराउने हो भने प्रक्रिया अगाडि बढाउनुपर्दैन ? कुनै संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्छ । कमसेकम जेठभित्र चुनाव गराउनै पर्छ । निर्वाचन आयोग संविधानभन्दा माथि जान सक्छ ?’ देउवाले प्रश्न गरे ।
