काठमाडौं। बुधबार कारोबारमा आएका अधिकांस कम्पनीको सेयर मूल्य घटेपनि नेप्से सूचक भने ९ अंकले बढेर २६११ बिन्दुमा पुगेको छ। यस सँगै समग्र बजार पुँजीकरण पनि करिब ३६ खर्ब रुपैयाँ पुगेको छ।
बुधबार कारोबार रकममा भने करिब दुई अर्ब रुपैयाँ गिरावट आएको छ। सोमबार र मंगलबार करिब १०/१० अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार भने मुस्किलले आठ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ।
सेयर बजारले दिनदिनै नयाँ उचाईंको रेकर्ड बनाइरहँदा ठूला लगानीकर्ताहरु भने विस्तारै बैंकको सेयरमा सिफ्ट भइरहेका छन्।
२६०० अंकको आँकडा पार गरेपछि बजारले तीब्र उतारचढाव व्योहोरेको छ। नियमित कारोबारमा ५/१० अंक सम्म बजार तल माथी भएपनि बजारले अर्को ठूलो फड्को मार्ने/नमार्नेमा लगानीकर्ताहरु अन्योलमा छन्। यस्तो बेलामा सुरक्षित लगानीको लागि कम मूल्य भएका बैंकको सेयर सबैको रोजाइमा पर्न थालेका छन्।
आइतबार वाणिज्य बैंकको दुई अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा, सोमबार तीन अर्ब र मंगलबार चार अर्ब रुपैयाँको कारोबार भएको छ। बुधबार पनि सर्वाधिक तीन अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएका छन्।
कारोबारमा पहिलोपटक निफ्रा अगाडि
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक करिब ७० करोड रुपैयाँको सेयर किनबेच भएको छ। बैंकको १६ हजार ७२४ कारोबारबाट १३ लाख ९७ हजार कित्ता सेयर ६९ करोड ४३ लाख रुपैयाँमा किनबेच भएका छन्।
त्यस्तै नबिल बैंकको ४१ करोड, नेपाल बैंकको ३५ करोड, ग्लोबल आइएमई बैंकको ३६ करोड र नेको इन्स्य रेन्सको २६ करोड रुपैयाँको सेयर किनबेच भएका छन्।
त्यस्तै प्रभु बैंकको २५ करोड, सिद्धार्थ बैंकको २१ करोड, कुमारी बैंकको २० करोड र एनआइसी एसिया बैंकको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलोपमेन्ट बैंक, हिमालयन ऊर्जा विकास कम्पनी र समृद्धि फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशततले बढेको छ। सनराइज बैंकको सेयर मूल्य ७ प्रतिशतले बढेको छ।
सर्वाधिक मूल्य घट्ने कम्पनीमा भने इन्फिनिटी लघुवित्त, कालिका लघुवित्त, बरुण हाइड्रोपवार र रिडी हाइड्रोपावरको सेयर मूल्य ३/३ प्रतिशतले घटेको छ।
अधिकांस उपसूचक रातो भएको बुधबारको बजारमा व्यापार समुहको सूचक ५९ अंक, बैंकिङ समुहको सूचक २९ अंक, अन्य समुहको सूचक १० अंक र विकास बैंक समुहको सूचक ६ अंकले बढ्नु बाहेक अरु सबै उपसूचकहरु राताम्मे भएका छन्।
जीवन बीमा समुह सर्वाधिक १४६ अंकले घट्दा निर्जिवन बीमा समुह १३६ अंक, उत्पादन समुह ८६ अंक र लघुवित्त समुह ४५ अंकले घटेका छन्।
दिनभरीमा २०३ कम्पनीका एक करोड ७६ लाख कित्ता सेयर आठ अर्ब तीन करोड रुपैयाँमा किनबेच भएका छन्। १३ कम्पनीको मूल्य स्थिर हुँदा ५८ कम्पनीको मात्रै मूल्य बढेको छ। बाँकी सबै कम्पनीको मूल्य घटेको छ।
