वीरगञ्ज। गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठगी गरेको आरोमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले चार उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।
बाराका कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको हो ।
लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आइरहेकाले खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अन्तर्गत ती उद्योगमाथि मुद्दा चलाइएको खाद्य अनुसन्धान अधिकृत विक्की राउतले बताए।
ती उद्योगका उत्पादनको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु भेटिएको थियो। अहिले कार्यालयमा नयाँ तथा पुराना गरी ६० मुद्दा अनुसन्धानको क्रममा रहेको जानकारी राउतले दिए।
ती मुद्दाअन्तर्गत तेल, घ्यू र मसलाजन्य पदार्थ सम्बन्धित मुद्दा बढी छन्। बारा र पर्साका उद्योग तथा बजारको अनुगमन गरी खाद्य नमूना ५५ वटा र दाना नमूना १० वटा संकलन गरी परीक्षणका लागि जनकपुरस्थित प्रयोगशालामा पठाइएको छ ।
