काठमाडौं। डिभिजन सडक कार्यालय ललितपुरले ठेक्का लिएर काम नगर्ने संयुक्त उपक्रम (जेभी) सहितका ६ कम्पनीसँग सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै खरिद सम्झौता गरेर तोकिएको समयभित्र निर्माण कार्य नगेका उक्त कम्पनीहरुलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो।
‘यसअघि कार्य सम्पन्न गर्नका लागि मौखिक, टेलिफोन तथा पत्राचारमार्फत सूचना गरिएकोमा हालसम्मको कार्यप्रगति सन्तोषजनक नदेखिएकाले उक्त ठेक्का किन नतोड्ने?’ सुचनामा भनिएको छ।
चित्तबुझ्दो कारणसहित उपस्थित नभए सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानतबापतको रकम जफत गरिने पनि सूचनामा उल्लेख छ। साथै, सम्झौता अवधि अन्त्य भएकाले सम्झौताबमोजिम बाँकी रहेको काम सक्नका लागि जेजति रकम आवश्यक पर्छ त्यो पनि त्यसरी सम्झौताबमोजिम काम नगर्ने निर्माण व्यवसायीहरुबाटै सरकारी बाँकी सरह असुल उपर गरिने जनाइएको छ।
यी हुन् कामचोर ६ कम्पनी
सम्झौताबमोजिम समयमा काम नगर्ने कामचोर निर्माण कम्पनीहरुमध्येको स्काइलाइन कन्स्ट्रक्सन (ललितपुर) ले नख्खुचोक-चोभार र भैंसीपाटी आवासचोक (ललितपुर) सडक मर्मतको जिम्मा लिएर कामै गरेको छैन। यसले तीन महिनाभित्र काम सक्नेगरि २०७६ कार्तिक २९ मा ठेक्का सम्झौता गरेर जिम्मेवारी लिएको थियो।
एसएल/गिरी/पिएम जेभीले पनि महिन्द्रपाउदेखि फुलबारीमार्ग हुँदै नख्खुडोल पुल,कार्यविनायक-०२ सैंबु-सल्लाघारी ( ललितपुर) को सडक विस्तार र सुधारको जिम्मा पाएको थियो। २०७४ असार २९ मा सम्झौता भएको उक्त आयोजना २०७६ फागुन ३० गते सम्पन्न गर्ने लक्ष्य थियो। तर अहिलेसम्म यसको पनि कामै सुरु भएको छैन।
गीता /ब्रदर्स जेभी काठमाडौंले कोड्कु खोला पुल निर्माण जिम्मा लिएर काम गरेको छैन। २०७२ असोज १८ गते ठेक्का सम्झौता भएको उक्त आयोजना २०७२ जेठ २० गते सक्ने लक्ष्य थियो।
यस्तै, रमण/पञ्चकन्या जेभी ललितपुरले रिङरोडबाट बालकुमारी मन्दिर ललितपुर सडक सुधार र विस्तारको जिम्मा लिएर काम गरेको छैन। २०७० असार ३१ मा भएको सम्झौताबमोजिम यो आयोजना २०७२ असोज ३० गते सक्नुपर्ने थियो। तर सम्झौताअवधि सकिएर पाँच वर्षभन्दा बढी समय बितिसके पनि अझै यसको काम सुरु हुन सकेको छैन्।
ज्योती निर्माण सेवा ललितपुरले धापाखेल-सुनाकोठी सादा रोड्स सुधार र स्तरोन्नतिको जिम्मा लिएर काम गरेको छैन। २०७१ वैशाख १४ गते सम्झौता भएको यो आयोजना २०७७ असोज ३० मा सक्ने लक्ष्य थियो।
साथै, एमके निर्माण सेवा प्राइभेट लिमटेड काठमाडौंले पनि मंगलबजार कुमारीपाटी-इती पोखरी ललितपुर सडकको आवधिक मर्मतको जिम्मा लिएर काम गरेको छैन। २०७२ माघ २४ मा सम्झौता भएको यो आयोजना २०७४ भदौ २९ गते सक्ने लक्ष्य थियो।

