वासिङटन : संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई फेरि आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रोकेका थिए । तर नयाँ राष्ट्रपति आएपछि फेरि सहयोगलाई निरन्तरता दिने निर्णय भएको हो ।
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने बताएका थिए । उनले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्–अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड जति अमेरिकी डलर रकम उपलब्ध गराउन लागेको हो । विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै विश्व स्वास्थ्य संगठनलाई यो रकम उपलब्ध गराउन लागेको हो । विश्वव्यापी महामारीका क्रममा विश्व स्वास्थ्य संगठनलाई बजेट आवश्यक परेको महसुस भएको र सोही अनुसार यो रकम उपलब्ध गराउन लागेको उनले बताए ।
गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो संगठनबाट अमेरिका बाहिरिएको निर्णय गरेका थिए । यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिका भित्रै र बाहिर पनि यस निर्णयको विरोध भएको थियो ।
पछि अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि अमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यबाट बाहिरिने निर्णय खारेज गरेका थिए । जो बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमै ट्रम्प प्रशासनको उक्त निर्णय उल्ट्याएको घोषणा गरेका थिए ।
