काठमाडौं। केही दिन यता सुनको मूल्य क्रमिक रुपमा घट्न थालेको छ । अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
गत शुक्रबार सुन प्रतितोला ९० हजारु ९ सय रुपैयाँ रहेको थियो । साताको पहिलो दिन आइतबार र सोमबार प्रतितोला एक /एक सय रुपैयाँले ओरालो लागेर सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ भएको थियो । मंगलबार घट्ने क्रम रोकिएर प्रतितोला २ सय रुपैयाँले बढेर पुन तोलाको ९० हजार ९ सय रुपैयाँमा पुग्यो।
बुधबार पुन तोलामा ११ सय रुपैयाँले घटेर ८ महिनापछि प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस लगत्तै घट्न थालेको सुनको मूल्य बिहीबार पनि तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो साता सुनको मूल्यमा प्रतितोला २७ सय रुपैयाँले गिरावट देखिएको छ ।
चाँदीको मूल्य पनि थोरै थोरै घट्न थालेको छ । बिहीबारको भन्दा तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ५ रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।
गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय २० रुपैयाँ रहेको थियो । आइतबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ३५ रुपैयाँ भएको थियो ।
क्रमिक उकालो लागेको चाँदी मंगलबार पुन तोलामा २० रुपैयाँ बढेर प्रतितोला एक हजार ३सय ६० रुपैयाँ पुगेको थियो । बुधबार तोलामा २० रुपैयाँ घटेर प्रतितोला एक हजार ३सय ४० रुपैयाँ भएको चाँदी बिहीबार तोलामा ५ रुपैयाँले गिरावट आएको थियो ।
चाँदी एक सातामा तोलामा १५ रुपैयाँले घटेको छ । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७६१.५१ डलर र चाँदी प्रतिऔंस २६. ७३ डलरमा कारोबार भइरहेको छ ।
