अमेरिकाको कोलोराडोमा उडान गर्दा एउटा इन्जिन फेल भएको बोइङ जेटको टुक्रा डेनभर नजिकैको बस्तीमा भेटिएको छ।
२ सय ३१ यात्रु र १० चालक दलका सदस्यसहित उडेको बोइङ ७७७ को इन्जिनमा आगो लागेलगत्तै डोनभोर विमानस्थलमा फोर्स ल्यान्डिङ गरिएको छ। विमानका कसैलाई पनि चोटपटक लागेको छैन।
ब्रोमफिल्ड शहरका प्रहरीले इन्जिनको केसिङ एउटा घर अगाडि खसेको फोटो पोस्ट गरेको छ। विमानमा रहेका यात्रुले जनाएअनुसार विमान उड्नासाथ विस्फोटको चर्को आवाज सुनिएको थियो।
अमेरिकाको युनाइटेड एयरलाइन्सको फ्लाइट ३२८ होनोलुलुका लागि उडेको थियो। विमानको दायाँपट्टिको इन्जिन फेल भएको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले जनाएको छ।
विमानमा रहेका एक यात्रुलाई उदृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार विमानमा चर्को आवाज आएपछि पाइलटले यसबारे ब्रिफ गरेका थिए।
‘एक्कासी विमान हल्लिन थाल्यो, अल्टिच्युड कतिमा थियो देखिन छाड्यो र विमान तलतिर झर्न थाल्यो,’ डेभिड डेलुसियाले भने, ‘मैले र मेरी पत्नीले हाम्रो वालेटलाई खल्तीमा हाल्यौं। केही गरी विमान तल झरेको भए हामी रहन्न थियौं। हाम्रो परिचयपत्र त्यहाँ हुने थियो।’
इन्जिनमा लागेको आगोको भिडियोसमेत सामाजिक सञ्जालमा देखिएको छ। यात्रुले नै त्यो भिडियो पोस्ट गरेका हुन्।
बस्तीमा झरेको इन्जिनको हिस्सालाई नछुन प्रहरीले सबैलाई सचेत गराएको छ। अनुसन्धानका लागि प्रहरीले यस्तो संदेश दिएको हो। नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले यसबारेमा अनुसन्धान गर्नेछ।
