भरतपुर । तत्कालीन नेपाल तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्यारालाई आममाफी दिएको भन्दै पौडेल परिवारले उक्त मुद्दा उल्ट्याउने बताएको छ ।
आफ्नो श्रीमान् र देवरको हत्या गरेर भरतपुर कारागारमा सर्वस्वसहित जन्मकैद भोगिरहेकाहरुलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएको भन्दै त्यसले आफूहरु अन्यायमा परेको शिव पत्नी विनु रायमाझी पौडेलले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर बताएकी हुन् ।
भरतपुर १० निवासी शिव पौडेलको २०६८ साल मंसिर २० गते भरतपुर कारागारभित्र आक्रमण भएको थियो भने सोही वर्ष पुस २ गते उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहरिएकाहरुलाई जन्मकैदको फैसला भए पनि आफ्नो कार्यकर्ता भएकै कारण प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा छाड्ने काम भएको उनको आरोप छ ।
‘यो घटनाले न्याय पाएको महसुस गरिरहेको हामी परिवारमाथि फेरि अन्याय भएको महसुस गरेका छौँ,’ उनले भनिन्, ‘त्यसैले हामीलाई प्रधानमन्त्री र राष्ट्रपतिको यो कदम सह्य छैन । हामी फेरि अदालतको ढोका ढक्ढकाउन जान्छौँ ।’
उक्त घटनामा ८ जनालाई सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो । तीमध्ये सुनिल केसी, फणिन्द्र श्रेष्ठ र दीलबहादुर मोक्तानलाई आममाफी दिएको हो । हालै छुटेका तीनजना तत्कालीन नेकपा एमालेको युवा संघका कार्यकर्ता हुन् ।
नेकपा फुटेपछि आफ्नो कार्यकर्ता बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना कार्यकर्ता छुटाएको उनको परिवारको आरोप छ । राष्ट्रपति भण्डारीले आफू नारी भएर पनि अन्य नारीको मर्म नबुझेको उनले बताइन् । कुनै समय आफैँ अन्यायमा परियो भनेर रोएकै मान्छेले आज अन्य नारीमाथि अन्याय गरेको उनको भनाइ छ ।
