काठमाडौं। मंगलबार सेयर बजार खुलेको ३० मिनेटभित्रै ५७ अंकको पहिरो गएको छ। बजार खुलेको सुरुवाती समयदेखि नै ओरालो लागेको बजारमा ३० मिनेट भित्रै नेगेटिभ सर्किटको बाटोमा पुगेको हो।
संसद विघटनविरुद्ध परेको मुद्दाको सर्वोच्च अदालतबाट फैसला आउने भएपछि राजनीतिक अन्योलताको हल्लाले सेयर बजार ओरालो लागेको विश्लेषकहरुले बताएका छन्।
बैंकिङ प्रणालीमा अहिले पनि तरलता पर्याप्त रहेकाले बजार घट्नुपर्ने अरु कारण भने केही पनि देखिएका छैनन्।
१६५ कम्पनीको २० लाख कित्ता सेयर डेढ अर्ब रुपैयाँमा कारोबार भइसकेको छ।
१५ कम्पनीको मात्रै मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।
सुरुवाती समयमा सकारात्मक सर्किट लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य मात्रै नकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ। अन्य कम्पनीको सेयर मूल्य अधिकतम ५ प्रतिशत सम्म घटेको छ।
