काठमाडौं। काठमाडौं वाहिर ६ अर्ब लगानीमा हाउजिङ परियोजना निर्माण सुरु भएको छ। भैरहवामा ‘बोधी होम्स्’ हाउजिङ परियोजनामा कुल ३ सय घरहरु निर्माण हुनेछ।
परियोजनाका अध्यक्ष जलेश्वर पाण्डेले दुई चरणमा निर्माण हुने हाउजिङ परियोजनाको पहिलो चरणमा एक सय ५ र दोस्रो चरणमा एक सय ९५ घरहरु निर्माण हुने जानकारी दिए। हाउजिङ परियोजनामा धितोपत्रमा लगानी गर्दै आएको इन्भेष्टमेन्ट कम्पनी काठमाडौं एसट्युट क्यापिटल लिमिटेड (केसीएल) सहित पूर्वसांसद प्रमोद यादवसहित व्यापारीहरु सुरेन्द्र पाण्डे र दिनबन्धु पोखरेलको लगानी छ।
केसीएलले सहायक कम्पनी केसीएल डेभलपर्समार्फत काठमाडौंको बुढानिलकण्ठमा प्रिमियम स्तरको सानो हाउजिङ कोलोनी निर्माण गरिरहेको छ। सात रोपनीमा १३ वटा प्रिमियम घर निर्माण गर्ने गरी काम सुरु गरिसकेको छ।
पहिलो चरणमा बन्ने घरहरुको निर्माण १८ महिना भित्र सक्नेगरी काम सुरु भइसकेको छ। दोस्रो चरणमा बन्ने घरहरुको निर्माण मंसिर २०७८ बाट सुरु गरेर दुई वर्षमा सक्ने योजना रहेको पाण्डेले जानकारी दिए। कुल १४ बिघा (एक सय ८६ रोपनी ६ आना १.८८५ दाम) मा निर्माण हुने यस परियोजना भैरहवाकै ठूलो आवासीय परियोजना हुने देखिन्छ।
केही दिन भित्रै बुकिङ खोल्ने तयारी भइरहेको छ। परियोजनाको पहिलो २० वटा घर बुकिङ गर्ने ग्राहकहरुलाई आकर्षक अफर दिने पाण्डेले बताए। बुकिङ खोलेपछि मात्रै घरहरुको मूल्य सार्वजनिक गर्ने तयारी छ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोमिटर पूर्वमा निर्माण हुने यो हाउजिङ परियोजनाको पछाडि नेपालकै सबैभन्दा ठूलो क्यासिनोसहितको पाँच तारे होटल निर्माण गर्ने योजनासमेत रहेको पाण्डेले बताए।
‘होटल र क्यासिनो हाउजिङ परियोजनाको ठीक पछाडी निर्माण गर्ने योजना छ,’ उनले बिजमाण्डूसँग भने,’पहिलो चरणको हाउजिङ परियोजना ‘क्लोजर’ गरेपछि दोस्रो चरणसँगै क्यासिनोसहितको होटल निर्माण अगाडि बढाउने हाम्रो योजना छ।’ अहिलेसम्म उक्त होटल र क्यासिनोको नामसहित प्राविधिक तयारी नटुंगिएको उनले बताए।

हाउजिङ परियोजनामा निर्माण हुने घरहरु १३ धुर (६ आना ३ पैसा २.७६४ दाम) देखि १८ धुर (९ आना २ पैसा १.३६६ दाम) सम्मको हुनेछन्। तीन सय घरहरु साढे २ तलासहित चार वटा विभिन्न डिजाइनमा निर्माण गरिने योजना छ।
हाउजिङ परियोजनामा सुविधा सम्पन्न आधुनिक प्रविधिका घर, चौडा सडक, खुला तथा हरित क्षेत्र, स्वीमिङ पुल, हेल्थ क्लब, रेष्टुरेष्ट, सपिङ सेन्टर, सभा हललगायतका सुविधासहितका पूर्वाधार निर्माण हुने कम्पनीले जनाएको छ।
भैरहवाको ग्रोथले नै तान्यो हाउजिङमा ठूलो लगानी
विगत ५-६ वर्षको विकासक्रम हेर्दा बढी सहरीकरण विस्तार हुनेमा भैरहवा पर्ने पाण्डेको दाबी छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भारतसँगको सीमा नजिकै रहेकाले नेपालीहरुभन्दा भारतीयहरुले त्यसको प्रयोग गर्ने सम्भावनाका कारण आर्थिक गतिविधिसँगै जनघनत्व बढ्ने देखिएको पाण्डेले बताए।

त्यसैगरी, नेपालको तराई क्षेत्रको सबैभन्दा बढी भीडभाड पनि भैरहवामै थुप्रिने देखिएकाले ठूलो लगानीसहित आवासीयसँगै केही वर्षमा क्यासिनोसहितको होटल निर्माणको योजना लिएर अघि बढेको पाण्डेले बताए। आवासीय क्षेत्र वरपर चार वटासम्म ठूलो लगानीमा पाँचतारे होटल निर्माणकै क्रममा रहेकाले हाउजिङ परियोजना त्यसै क्षेत्रमा ल्याउन प्रेरित गरेको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेसँगै बुद्ध जन्मभूमिमा विदेशी पर्यटक ओइरिने आकलन गर्दै पछिल्लो समय भैरहवा तीव्र गतिमा सहरीकरण भइरहेको छ।
