काठमाडौँ । विगतमा भिन्नाभिन्नै समूहमा रहेका मधेसवादी दलहरु मिलेर अहिले जनता समाजवादी पार्टी नेपाल (जसपा) बनेको छ । तर, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बने पनि यी दुई पार्टीमा शीर्षनेताहरुको ‘केमेस्ट्री’ नमिल्दा धाँजा फाटिरहेको छ ।
२०६२/०६३ सालमा दोस्रो आन्दोलन र त्यसपछि मधेस आन्दोलन सुरु हुँदा निर्वाचन आयोगमा दर्ता भएको मधेसकेन्द्रित पार्टी नेपाल सद्भावना पार्टी मात्रै थियो ।
उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम एउटा समाजिक संस्थाका रुपमा संगठित थियो, तर पार्टीको आकार लिएको थिएन । पहिलो मधेस आन्दोलनलाई यही फोरमले हाँकेको थियो । पछि त्यसमा सद्भावना पार्टी जोडियो ।
दोस्रो मधेस आन्दोलनसम्म आइपुग्दा महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) जन्मियो । र, नवगठित तमलोपा पनि मधेस आन्दोलनमा जोडियो । अन्ततः फोरम, सद्भावना र तमलोपाले कार्यगत एकता गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाए ।
सत्तामा पुगेपछि टुटफुट शुरु
सरकारसँग ८ बुँदे सम्झौतापछि तीनै दलहरु आ–आफ्नो ब्यानरमा संविधानसभाको चुनावमा सहभागी भए । पहिलो संविधानसभा चुनावपछि यी तीन दलको सत्ता–यात्रा सुरु भयो । सँगसँगै, पार्टी विभाजनको श्रृङ्खला पनि सुरु भयो ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरम चार टुक्रा भयो । नेपाल सद्भावना पार्टी पाँच टुक्रा भयो । त्यस्तै तमलोपा दुई टुक्रा भयो । अन्ततः तीनवटा दलबाट ११ वटा दल बने । २०७० को दोस्रो संविधानसभा चुनावमा फुटकै कारण मधेसवादी दलहरु कमजोर बने ।

पहिलो संविधानसभापछि फुटेका यी दलहरुका बीचमा एकीकरणका लागि प्रयास पनि नभएको होइन । सुरुमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महन्थ ठाकुर नेतृत्वको तमलोपाबीच एकीकरणका लागि प्रयास भयो । अन्तिम चरणमा पार्टीको नाम, झण्डा, राजनीतिक दस्तावेज लगायतका कुराहरु मिले पनि नेतृत्वमा कुरा नमिल्दा शुरुमा एकीकरण हुन सकेन । तर, एकताको प्रयास जारी नै रह्यो ।
वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादव, काँग्रेस पृष्ठभूमिका महन्थ ठाकुर र गजेन्द्रवादी विचारधाराबाट प्रशिक्षित मधेसवादी नेता राजेन्द्र महतोबीच एकीकरणका लागि पटक–पटक कुरा भयो । अन्त्यमा नेतृत्वमा कुरा नमिलेपछि एकीकरण प्रकृयामा ‘ब्रेक’ लाग्थ्यो ।
