काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा बहुमत जुटाउन जनता समाजवादी पार्टी(जसपा) का नेता महन्थ ठाकुरसँग सघन सम्वादमा छन् । आफूसँग १२० सांसद रहेका र जसपाका १७/१८ जना सांसदले सघाएमा बहुमत जुटाउन सकिने प्रधानमन्त्री ओलीको हिसाब छ । तर, उनको यो हिसाबमा कर्णाली प्रदेशले झट्का लगाइदिएको छ ।
कर्णाली प्रदेशमा माओवादी नेता महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका थिए । शाहीको पक्षमा काँग्रेस र माओवादी मिल्दा पनि बहुमत जुट्ने अवस्था थिएन । शुक्रबार प्रदेशसभामा भएको मतदानमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।
तर, माधव नेपाल पक्षका चारजना एमाले सांसदले ओली पक्षको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर शाही सरकारलाई जोगाइदिएका छन् ।
