काठमाडौं। कोभिड संक्रमणको दोस्रो लहर बढ्न थालेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई महामारीमा आउने विशेष अवस्थाको आकलन गरेर कार्ययोजना बनाउन निर्देशन दिएको छ।
पछिल्लो केही दिनदेखि कोभिड संक्रमण बढ्न थालेपछि राष्ट्र बैंकले यो निर्देशन जारी गरेको हो। ‘समुदाय स्तरमा कोभिड-१९को संक्रमण फैलिएर महामारीको विशेष अवस्था आइपर्नसक्ने परिस्थितीलाई समेत आंकलन गरेर बैंक तथा वित्तिय संस्थाका अत्यावश्यकीय कार्यको निरन्तरताका लागि कार्ययोजनासहितको ‘कन्टिन्जेन्सी प्लान’लाई समयानुकूल अद्यावधिक गर्नुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको नौ बुँदे निर्देशनमा उल्लेख छ।
बैंकले कर्मचारीको भीडभाड कम गर्न वर्क फर्म होम, सिफ्ट तोकेर काम लगाउने लगायतका सावधानी अपनाउन निर्देशन दिएको छ। सेवाग्राही भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा दिन समेत निर्देशन दिएको छ। ‘सेवाग्राहीको आवतजावत सकेसम्म कम हुने गरि बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरु यथासम्भव विद्युतीय माध्यमबाट गर्न र गराउन प्रोत्साहित गर्ने’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
बैक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, सेमिनार, तालिम जस्ता कार्यक्रमहरु भौतिक दूरी सुनिश्चित गर्न तथा सम्भव भएसम्म भर्चुअल माध्यमबाट गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ। कर्मचारीहरुलाई समूहमा विभाजन गरि प्रत्यक्ष सम्पर्क नहुने गरि काम गर्ने वातावरण मिलाउन समेत निर्देशन दिएको छ।
राष्ट्र बैंकले कर्मचारीमा संक्रमणको शंका लागेमा तत्काल परीक्षण गर्ने र संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन र कन्ट्रयाक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्न समेत निर्देशन दिएको छ। बैंक तथा वित्तिय संस्थालाई कोभिड १९ सम्वन्धी समस्या सहजीकरण र सम्पर्कका लागि कोभिड १९ सुरक्षा व्यवस्थापन समूह गठन गरेर संक्रिय रुपमा परिचालन गर्न समेत निर्देशन दिएको छ।
