चितवन, नारायणगढमा तेस्रो लिंगीले आतंक मच्याएको भन्दै प्रहरीले आइतबार राति ६ जनालाई पक्राउ गरेको छ ।
भरतपुरबाट नारायणगढतिर जाने मुख्य सडक खण्डको ओरालोमा रातको समयमा तेस्रो लिंगीहरूले बाटोमा हिँड्ने सर्वसाधारण मानिसहरूलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले आज प्रेषित गरेको प्रेस नोटमा उनीहरुले सडकमा हो–हल्ला गरी समाजमा शान्ति सुरक्षामा असर पुग्ने खालको क्रियाकलाप गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार कसुरमा थप अनुसन्धान प्रकृया अगाडि बढाइने जनाएको छ ।
