चितवन । चितवनको यातायात सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) बाहेकका सबै सेवा प्राप्त हुने भएको छ । नयाँ सवारी साधन दर्ता, नामसारी लगाएतका सबै काम जिल्लाबाटै गर्ने गरि वागमती प्रदेश सरकारले यहि बैशाख ८ गतेको मन्त्री स्तरीय निर्णयबाट यहि आईतबार देखी सेवा सुचारु गर्ने गरि अधिकार प्रदान गरेको यातायात ब्यवस्था सेवा कार्यालय चितवनका सुचना अधिकारी गोबिन्द पौडेलले बताएका छन् ।
उनले थप भएका सेवाका लागी कोड नम्वर प्राप्त भएको र कार्यालयमा उपलब्ध जनशंक्तिलाईनै उच्चतम प्रयोग गरी सेवा प्रवाहको ब्यवस्था मिलाउन पत्रमार्फत निर्देशन आएको बताए । उनले भने–‘निकै ठुलो कसरत र मिहिनेतबाट यो अधिकार प्राप्त भएको छ, अब केही दिनमै सेवा प्रदान गर्ने तयारीमा छौं ।’ सुचना अधिकारी पौडेलले भने, कार्यालय प्रमुख सुभाष उप्रेतीले विभागसंग समन्वय गरिरहनुभएको छ , अब छिट्टै सेवा प्रदान गर्ने तयारीमा हामी छौं
ठुलो लडाई जितियो : यातायात व्यवसायी
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद सुवेदीले लाईसेन्सको काम संरचना निमार्ण भएपछि सुचारु गर्ने गरि प्रदेश सरकारबाट अधिकार सहितको पत्र यहि आईतबारबाट लागु गर्ने गरि प्राप्त भएको र यसले आफुहरुमा उत्साह जगाएको बताए । धेरै वर्ष अगाडी देखिको लडाई आफुहरुले जित्न सफल भएका छौं–उनले भने ।
यातायात कार्यालयको सेवा सुचारु गर्न पुर्वाधार निमार्णका लागी गत भदौ ३ गते को बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले चितवनको आँपटारीमा २ बिघा ७ कठ्ठा जग्गामा प्रदान गर्ने निर्णय गरेको र अब संघिय सरकारले निर्णय गर्ने बित्तिकै त्यहा संरचना निमार्ण शुरु हुने उनले बताए । सुवेदीले आँपटारीको जग्गाको फाइल वन मन्त्रालयमा पुगेर अड्किएको बताए । बिक्रम पाण्डे वनमन्त्री भएका बेला नेपाल सरकार वन मन्त्रालयले आँपटारीमा वनको जग्गा उपलब्ध गराउने गरी फाईल तयार गरेको थियो ।
पछि सरकार परिर्वतन भएपछि त्यो फाईल अड्किएको थियो । तत्कालिन स्थानीय विकास अधिकारीको नेतृत्वमा भरतपुर महानगरपालिकाका, प्रशासन कार्यालय, मालपोत कार्यालय, यातायात व्यवसायीका प्रतिनिधि सहितको ७ जनाको जग्गा पहिचान तथा सिफारिस समिती गठन गरिएको थियो । सो समितिले ८ महिनाअघि नै जग्गाको पहिचान गरी यातायात व्यवस्था विभाग र वन विभागमा सिफारिस गरेको थियो ।
‘आफ्नै भवन नहुदा सेवा प्रबाहमा समस्या’
आफ्नै भवन नहुदा निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको प्रदेश नं ३ अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालयले सहज रुपमा सेवा प्रदान गर्न सकिराखेको छैन् । कोरोनाको जोखिम संगै साँगुरो कार्यक्षेत्रका कारण निकै चुनौती सामना गरेर सेवा प्रवाह गर्न कर्मचारीहरु बाध्य भएको कार्यालयका कर्मचारी दिपक गुरुगंले बताए । आफुहरुले हरेक सेवाग्राहीलाई सावधानी पुर्वक र प्रभावकारी ढंगबाट छिटो छरितो सेवा दिएर खुशी बनाएर पठाएको सुचना अधिकारी पौडेलको भनाई छ ।
_20210428135821.jpg)
यातायात व्यवस्था विभागले विसं २०७५ साउन ९ गते भरतपुर लगायत १६ वटा सेवा कार्यालयलाई परिपत्र गर्दै पूर्वाधार पुगेका सेवा कार्यालयहरुले लाइसेन्स वितरण गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरेको थियो । तर प्रदेश सरकारले अधिकार नदिदा र आफनै भवन निमार्ण गर्ने जग्गा उपलब्ध नहुदा कार्यालयले अधिकार पाएर पनि सेवा प्रवाह गर्न सकेको छैन् ।
निकै ठुलो कसरतले सेवा बिस्तार गर्न सफल भयौ : रेनु दाहाल
भरतपुर महानगर प्रमुख रेनु दाहालले निकै ठुलो मिहिन्त र कसरतले चितवनमा यातायात कार्यालय सेवा बिस्तारको अनुमती ल्याउन सफल भएको बताएकी छिन् । पटक पटकको प्रदेश सरकारसंगको परामर्शका आधारमा तत्कालका लागी लाईसेन्स सहितको सेवा प्राप्त भएको र अब भवन निमार्णका लागी जग्गाको टुंगो लागेपछि संरचना तयार गरी लाईसेन्स सहितको सेवा पनि प्रदान गरिने दाहालको भनाई छ । यसले चितवनमा राजस्वको दर बढ्ने र यसले समग्र चितवनको आर्थीक गतिबिधि चलायमान बनाउन ठुलो सहयोग पुग्ने मेयर दाहालको भनाई छ ।
बिरगन्ज जानुपर्ने बाध्यता हट्यो
नारायणी अञ्चलको वीरगञ्जमा यातायात व्यवस्था कार्यालय रहँदै आएको र हाल वीरगञ्ज प्रदेश २ अन्तर्गत परेपछि चितवन, मकवानपुर र धादिङलाई पायक पर्ने गरी चितवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्न लागिएको हो । अहिले भरतपुरमा यातायात व्यवस्था सेवा कार्यालय रहेको छ । सवारीसाधानको नवीकरण लगायतका साना काम यहीबाट भए पनि लाइसेन्स, ट्रायल, पासलगायतका काम गर्न भने वीरगञ्ज, बुटवल, काठमाडौं, पोखरा जानु पर्ने बाध्यता रहेको छ । अव चितवनबाट सेवा सुरु हुने भएपछि लाईसेन्स बाहेक अन्य सेवासुविधाका लागि बिरगन्ज जानु पर्ने बाध्यता हटेको छ ।
सफल खबरबाट
