चितवन । यतिबेला देश भयावह रोग न्यू भेरियण्ट कोरोना भाइरसले आक्रान्त छ । दिन दुईगुना रात चारगुना संक्रमितको दर बढ्दै गइरहेको छ । चितवन पनि देशको केन्द्र भएकोले यहांँपनि गुणात्मक रुपमा संक्रमितको संख्या बढिरहेको छ । अस्पताल अन्य रोगका बिरामीले भन्दा कोभिडका बिरामीले भरिएका छन । निशेधाज्ञाका कारण नागरिक हरु घर भित्र भएपनि फ्रन्टलाईनरको रुपमा प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी खटिएका छन ।
उनीहरु कोरोनाको उच्च जोखिममा पनि आफ्नो दायित्व निभाईरहेका छन । यसैबीच जिल्ला प्रहरी कार्यालय , चितवनका सबै तह तप्काका प्रहरी तथा सुरक्षाकर्मी आफ्नो ड्युटी निभाईरहेका छन । आफ्ना कर्तव्य पालनको शिलशिलामा कतिपय राष्ट्रसेवक संक्रमणबाट अछुतो रहन सकेका छैनन । यसैबीच बैशाख १४ गते जिल्लाको सुरक्षा को कमाण्डर ओम प्रकाश अधिकारी पनि कोरोना संक्रमण बच्न सकेनन । अन्तत रिपोर्टमा उनको नतिजा पोजेटिभ देखियो ।
हाल उनी प्रहरी कार्यालय भित्रकै क्वाटरमा वसेर जिल्लाको सुरक्षा कमाण्ड सम्हालिरहेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १७ गते शुक्रवारदेखि १५ दिने निषेधाज्ञा जारी गरेको छ । सो निषेधाज्ञाको कार्यान्वयन, संक्रमितहरुको व्यवस्थापन, समग्र सुरक्षाको कमाण्ड क्वाटरमा नै बसेर गरिरहेको एसपी अधिकारी बताउँछन् ।
संक्रमणको स्रोत थाहा नभएको बताउँदै एसपी अधिकारी भन्छन्, ‘कार्यालय गएको छैन, तर क्वाटरमा नै बसेर समग्र जिल्लाको सुरक्षा मेरै कमाण्डमा चलिरहेको छ ।’ क्वाटरमा सामान्य ढंगले नै बसिरहेको उनी बताउँछन् । उनलाई कोरोना संक्रमण भए पनि उनको सुरक्षा गार्ड तथा सहयोगी भने संक्रमित छैनन् ।
जिल्ला प्रहरी कार्यालय चितवन भित्र कार्यरत झण्डै २ सयभन्दा बढी प्रहरीमध्ये उनी मात्रै अहिलेसम्म संक्रमित पुष्टि भएका अधिकारी हुन् । हिरासतमा दुई जना थुनुवा संक्रमित छन् । एसपी अधिकारीलाई कोरोनाका कारण स्वाद हराउने, सामान्य रुघाखोकी र हल्का ज्वरोको समस्या छ । त्यसबाहेक अन्य खासै ठूलो समस्या नभएको एसपी अधिकारी बताउँछन् ।
यद्यपि चिकित्सकसँग बेलाबेलामा सल्लाह लिने गरेको उनी बताउँछन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी सूर्यबहादुर थापा, इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी इन्द्रबहादुर रानासँग र मातहतका ६ वटा इकाइका प्रहरी निरीक्षकहरूसँग निरन्तर सम्पर्क र समन्वयमा काम गरिरहेको एसपी अधिकारीले बताए । ‘संक्रमित भएदेखि नै मैले आफ्नो डीउटी छाडेको छैन, तनाव पनि खासै लिएको छैन,’ एसपी अधिकारीले भने, ‘प्रहरी भनेको अन्य कार्यालय जस्तो हैन ।’ उनले प्रहरी समूहमा बस्ने, खाने र हिँड्ने भएकाले कोरोना सर्ने जोखिम पनि उच्च हुने हुँदा विषेश सावधानी अपनाइएको बताए ।
उनले कोभिडको अहिलेको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालयले गरेको लकडाउन कसैले कसैको विरुद्धमा लगाएको आदेश नभएकाले जनता आफैंले सचेत हुनुपर्ने बताए । ‘आदेशको कार्यान्वयनका लागि प्रहरी फिल्डमा खटिएको छ, सबैको जीवन रक्षाका लागि प्रहरी निरन्तर खटेको हो, आफ्नो स्वास्थ्य नै जोखिममा पारेर खट्ने प्रहरीलाई सबैले सहयोग गर्नुहोस्,’ एसपी अधिकारीले भने, ‘अत्यावश्यक काम मात्रै गरौं, अरु काम अहिलेलाई थाती राखौं र सुरक्षित रहौं ।’
उनले विभिन्न नाम र बाहनामा लकडाउनमा घुम्ने, कानूनभन्दा माथि रहेको वा पहुँच देखाउन सवारी लिएर हिँड्ने क्रम सुरु भएकाले पहिला सम्झाउने र नसम्झिए कानून बमोजिम कारवाही गरिने बताए । उनका अनुसार जिल्लामा पहिलो दिन लकडाउनको आदेश उल्लंघन गर्न खोज्ने झण्डै दुई हजार जतिलाई होल्डिङ सेन्टरमा राखेर सचेत गराएर छाडिएको छ । शनिबारबाट झनै बढी कडाइ गर्ने तयारीमा प्रशासन रहेको एसपी अधिकारीले बताए ।
