हेटौंडा । कोभिड–१९ (कोरोना भाईरस) को संक्रमण बढदै गएपछि आजबाट हेटौंडामा मिनि लकडाउन हुने भएको छ । आजबाट उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल, लज, रेष्टुरेन्ट, मिठाई पसल तथा चिया पसलहरू बन्द हुनेछन भने सम्पूर्ण निजी अस्पतालहरूले आआफ्नो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउनु पर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी हेटौंडा बजार क्षेत्रमा मानिसहरूको भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्न व्यवसायको दिन तोकेर आलोपालो प्रणाली लागू गराउन मकवानपुर उद्योग वाणिज्य संघले व्यवस्थापन गर्ने गराउने गरी निर्णय गरेको छ । यसअघि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले मकवानपुरमा संक्रमण बढ्न र भिडभाड बढ्न नदिन सवारीमा जोर बिजोर प्रणाली लागू गर्नुको साथै जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिसकेको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि मकवानपुरमा रहेका सम्पुर्ण शैलुन,ब्युटिपार्लर र मदिरा व्यवसाय अर्को सुचना नआएसम्मको लागि बन्द गरेको छ । केन्द्रले धेरै भिड हुने मालपोत तथा नापी कार्यलय बन्द गर्नुको साथै राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको आन्तरिक कार्य बाहेकका अन्य सबै सेवा अर्को सूचना नआएसम्मको लागि बन्द गरेको छ ।
यसैगरि प्रशासनले संक्रमण बढ्ने जोखिमलाई मध्यनजर गर्दै मकवानपुरका सबै बैंक तथा वित्तिय आलोपालो गरि हप्तामा तीनदिन सुचारु गर्ने जनाएको छ । बैंक तथा वित्तिय संस्थाहरु बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म सुचारु हुने प्रशासनले जनाएको छ । बैंकका एटिएम २४ सै घण्टा सुचारु रहने प्रशासनले जनाएको छ ।
त्यस्तै सहकारी संस्थाहरुले घर तथा पसलमा गई नगद संकलन कार्य अर्को सुचना नआएसम्मको लागि रोक्ने जिल्ला प्रशासन कार्यलय मकवानपुरले सूचना निकालेको छ । साथै सहकारी पनि आलोपालो गरि हप्तामा तीनदिन सुचारु हुने र बिहान ११ बजेबाट दिउँसो २ वजेसम्म सुचारु हुने भएको हो ।
