फक्रेको कोपिला
पाखो बारीलाइ सुन्दर बनाउँदै
एक कोपिला हल्का सुगन्ध छर्दै
फकृन थाल्छे
रनवन फैलाउँदै मिठास
सेरोफेरोमा जगमगाउँछे
ऊ लिन्छे आफ्नै समय अनि फकृन्छे
प्रत्येक पत्र पत्र सजिन्छन उस्का
लालिमा लत्पतिए झैं गरि
अनि त्यो अलौकिक सौन्दर्यले
आकर्षित गर्छ एक हुल
भमाराका जमातहरु
ऊ जानी जानी सुम्पिन्छे आफैलाइ
आफ्नो कर्म ठानी एक भमरालाइ
आफैलाइ रित्ताएर खनाउँछे
आफ्नो सुबास उसै माथी
आफैलाइ निचोरेर खोक्र्याउँछे
पुस्ताको भलाइका लागि
कैयौं रातदिन ढल्दै गए
ऊ पोटिली पोसिली हुँदै
आज ओइलाइसकि झोक्राइसकि
तर पनि अंझै घोटिदैछे
थोपा थोपाले सिंचित गर्दैछे
उस्को अन्तिम श्वास सम्म
फेरि नयाँ कोपिला फुलाउन लागि पर्दैछे
त्यसैले त आज
ऊ आमा भनिन्छे
जननी मानिन्छे
नाम: स्मृती अधिकारी
ठेगाना: कालिकोट
