वीरगंज। वीरगंजका बैंहरुले आइतबारदेखि नगद कारोबार बन्द गर्ने भएका छन्।
वीरगंज क्षेत्रका बैंकहरुले दिने सेवामा कटौती गर्दै अत्यावश्यक सेवा मात्रै दिने निर्णय गरेका हुन्।
कोरोनाको दोस्रो लहरमा निजी तथा सरकारी बैंकका गरि वीरगंजमा मात्रै ९१ जना भन्दा बढी कर्मचारीहरु संक्रमति भएपछि बैंकहरुले थप सावधानी अपनाउन नगद कारोबार बन्द गर्ने निर्णयमा पुगेका हुन्।
वीरगंज बैंकर्स एसोसियसनले बिहीबार एउटा सूचना जारी गर्दै आइतबारदेखि यहाँ सञ्चालित सम्पूर्ण बैंकबाट प्रवाह हुने सेवामा नगद कारोबार बन्द हुने जनाइसकेको छ।
आइतबारदेखि नगद जम्मा र चेक साटेर पैसा निकाल्ने काम नगर्ने निर्णय गरिएको नबिल बैंक श्रीपुरका शाखा प्रबन्धक सन्तोष साहले जानकारी दिए।
कोभिडबाट बैंकका कर्मचारीहरु सङ्क्रमित हुनथालेपछि कर्मचारी र सेवाग्राहीको स्वास्थ्य लाई ध्यानमा राखेर एसोसियसनले यस्तो निर्णय गरेको उनको भनाई छ।
यद्दपी, चेक क्लियारिङ, आरटीजीएस, आईपीएस, एलसी र भन्सार सम्बन्धि महत्वपूर्ण कामहरु भने नरोकिने उनले बताए। सेवाग्राहीलाई विद्युतीय कारोबारलाई प्राथमिकता दिन पनि एसोसिएसनले आग्रह गरेको छ ।
