घरमा धुमधामका साथ विवाहको आयोजना गरेको केही दिनभित्रै बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। दुवै जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।झापाको गौरादह नगरपालिका ४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाको विराटनगरस्थित कोसी कोभिड अस्पतालमा शुक्रबार राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। ताजपुरियाले महिना दिनअघि मात्र विवाह गरेका थिए।
उनको आमा शान्तिदेवी ताजपुरियाको वैशाख २३ गते मृत्यु भएको थियो। आमाको पनि कोरोना सङ्क्रमणबाटै मृत्यु पारिवारिक स्रोतले जनाएको छ। ताजपुरियाको घरमा वैशाख १० गते विवाह भएको थियो।
विवाह सकिएलगत्तै केही दिनभित्रै सन्तोष, उनकी नवदुलही, आमासहित परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएपछि सन्तोष वैशाख २४ गतेदेखि उपचाररत थिए। शुक्रबार राति सन्तोषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए।
