काठमाडौं। निषेधाज्ञाको समयमा पनि नागरिक उड्डयन प्राधिकरणले उड्डयन व्यवसायमा नयाँ प्लेयरका रूपमा छिर्ने योजनामा रहेका वायुसेवा सेवा कम्पनीहरुको उडान अनुमति प्रक्रियाको काम धमाधम अगाडि बढाएको छ।
मुस्ताङ, रोयल त्रिलोक, अन्नपूर्ण, आरएस हेलिकप्टर लगायतका रोटर विङ्स (हेलिकप्टर) वायुसेवा कम्पनीहरु यतिबेला पाइपलाइनमा छन् । यस्तै, फिक्स्ड विङतर्फ पनि शिवम् एयरलाइन्स नयाँ वायुसेवा कम्पनीका रूपमा उड्डयन व्यवसायमा प्रवेशको पर्खाइमा छ।
हाल यी मध्येका केही वायुसेवा कम्पनीलाई अनुमति दिने प्रक्रियागत कामहरु धमाधम अघि बढाएको प्राधिकरणअन्तर्गतको हवाई सुरक्षा विभागले जनाएको छ।
विभागका अनुसार अहिले मुस्ताङ हेलिकप्टरको उडान अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। केही महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स पाएको रोयल त्रिलोकले पनि उडान अनुमतिका लागि विभागमा आवेदन दिएको छ। कम्पनीले आवेदन दिएसँगै यतिखेर प्राधिकरणले अनुमति दिने सम्बन्धमा अध्ययन थालिसकेको छ।
डेमोस्ट्रेसन फ्लाइटको चरणमा पुगेको मुस्ताङ हेलिकप्टरको प्रक्रिया भने कोभिड-१९ दोस्रो लहरका कारण अड्किएको विभागले जनाएको छ।
मुस्ताङ हेलिकप्टरका संचालक रोनन लामिछानेले भने, ‘हामी डेमोन्स्ट्रेसन फ्लाइटको तयारीमा थियौं। कोभिड दोस्रो लहरका कारण काम पुनः प्रभावित भएको छ। अब अवस्था सामान्य भएलगत्तै डेमो फ्लाइट गर्ने योजनामा छौं ।’
प्राधिकरणबाट नो अब्जेक्सन लेटर (एनओसी) पाइसकेको अन्नपूर्ण हेलिकप्टरले भने यतिखेर कोभिड दोस्रो लहरका कारण प्रक्रिया अगाडि बढाउन नसकेको जनाएको छ।
भइरहेकै हेलिकप्टर कम्पनीको व्यापार राम्रोसँग चल्न नसकेका कारण आफूहरु पर्ख र हेरको अवस्थामा रहेको कम्पनीका प्रशासन प्रबन्धक श्रीष शर्माले बताए। ‘हामी एनओसी लिएर बसेका छौं। जहाज नल्याइकन अर्को प्रक्रिया सुरु गर्न सकिँदैन। अहिलेको अवस्थालाई मध्यनजर गर्दै प्रक्रिया अगाडि बढाउने कि पछि हट्ने भन्ने दोधारमा छौं,’ उनले भने,’यस्तै भइरह्यो भने कसरी अगाडि बढ्नु र ?’
अन्नपूर्ण हेलिकप्टरले करिब तीन वर्षअघि पर्यटन मन्त्रालयबाट चार वर्षका लागि उडान संचालन लाइसेन्स पाएको थियो।
दुई वर्षभित्रै हेलिकप्टर संचालनमा ल्याइसक्नुपर्ने सर्तमा लाइसेन्स पाएको भए पनि कोभिडका कारण पुनः आवेदन दिइ एक वर्षका लागि अनुमति थपिएको शर्माले जानकारी दिए। थप गरिएको अवधिअनुसार आउँदो अक्टोबरमा अन्नपूर्णको लाइसेन्सको तीन वर्षे अनुमति पूरा हुँदैछ।
‘अब चार महिनाभित्र हेलिकप्टर ल्याएर संचालन गरिएन भने एनओसी पनि एक्सपायर हुनेछ,’ उनले भने। कम्पनीले तीनवटा एयरबसको हेलिकप्टर ल्याएर उडान संचालन गर्ने योजना बनाएको हो।
प्राधिकरणका अनुसार उडान अनुमति प्रक्रियाका लागि आवेदन दिएको आरएस हेलिकप्टर भने एक वर्ष अघिदेखि सम्पर्कमा आएको छैन।
यतीको अन्तर्राष्ट्रिय चार्टर उडान र गुणको जहाज संख्या विस्तार प्रक्रिया अन्तिम चरणमा
यसैगरी फिक्स्ड विङतर्फ गुण एयरलाइन्सको जहाज संख्या क्षमता विस्तारको प्रक्रिया सुरु भएको पनि प्राधिकरणले जनाएको छ।
गुण एयरलाइन्स पाँच जेटस्ट्रिम (जे-४१) जहाज थप गर्ने योजनामा छ। सोही अनुरुप यसले कम्पनीले प्रक्रियासमेत अघि बढाइसकेको छ।
कम्पनीको चरणबद्ध निरीक्षण र अध्ययनपछि पाँच वटा जहाज थपका लागि स्वीकृति दिने प्राधिकरणले जनाएको छ। प्राधिकरण स्रोतका अनुसार गुणले जहाज संख्या थप गर्नका लागि निषेधाज्ञा अगाडि आवेदन दिएको थियो।
यसैगरी अन्तर्राष्ट्रिय चार्टर उडानका लागि डेमोन्स्ट्रेसन फ्लाइट गरिसकेको निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सको पनि प्रक्रिया अन्तिम चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ।
साथै, शिवम एयरलाइन्सले हालको अवस्था सामान्य भएसँगै मन्त्रालयबाट लाइसेन्स लिने योजना रहेको जनाएको छ। स्टल रुट (विकट गन्तव्य) तर्फ नियमित उडान गर्ने उद्देश्यले भित्रिन लागेको यस वायुसेवा कम्पनीले कोभिड दोस्रो लहरका कारण सहजै प्रक्रिया अनुसार काम अगाडि बढाउन नसकेको जनाएको छ।
कम्पनीका संचालक दिनेश आचार्य भन्छन्, ‘अनुमतिका लागि मन्त्रालयमा आवेदन दिएका छौं। यो अवस्थामा कोभिडका कारण प्रक्रिया पेण्डिङमै छ। निषेधाज्ञा खुलेलगत्तै हामी पुनः फुल स्पिडमा काम अघि बढाउनेछौं।’
