भरतपुर, १४ जेठ
कोरोना महामारीको प्रभाव कायमै रहेपछि भरतपुर महानगरपालिकाले पनि विद्यालय तहको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने भएको छ । शैक्षिक प्रशासन महाशाखा भरतपुर महानगरपालिकाले १०–१२ बाहेक सबै विद्यार्थीको मूल्यांकन यसअघिका त्रैमासिक परीक्षाहरूलाई आधार मानेर गर्न र नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।
बिहीबार शैक्षिक प्रशासन महाशाखाले जारी गरेको निर्देशनमा कक्षा ८ को नतिजा जेठ २३ सम्म महानगरमा पठाउन र अरु कक्षाको नतिजा जेठ मसान्तअघि नै सार्वजनिक गरिसक्न भनिएको छ ।
भरतपुर महानगर परीक्षा समितिले यसअघि परीक्षा तोके पनि कोरोनाको प्रभाव तीव्र भएपछि स्थगित गरिएको थियो । सरकारले यसअघि नै यसपालिको शैक्षिक सत्र जेठसम्म लम्ब्याएको थियो । पछि कोरोनाको दोस्रो लहर आएपछि त्यसलाई वैशाखमा तान्ने प्रयास पनि भएको थियो । तर, वैशाखमै कोरोना प्रभाव बढ्न थालेपछि त्यो सम्भव भएन ।
महाशाखाले नतिजा तयारी र प्रकाशनका लागि निश्चित खाका पनि बनाएको छ । त्यसका लागि हरेक विद्यालयले एउटा मूल्यांकन समिति गठन गर्नुपर्नेछ । विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा गठन गरिने ३ सदस्यीय मूल्यांकन समितिमा सम्बन्धित तहको ज्येष्ठ शिक्षक सदस्य र प्रधानाध्यापकले तोकेको शिक्षक सदस्यसचिव रहने छन् ।
विद्यार्थीको मूल्यांकन गर्दा यसअघि लिइएका त्रैमासिक परीक्षाहरूलाई आधार मान्न भनिएको छ । यहाँका सामुदायिक विद्यालयले विद्यालय तहमा दुईवटा परीक्षा लिइसकेका छन् । संस्थागत विद्यालयले भने अनलाइन माध्यमबाटै अन्तिम परीक्षा पनि सञ्चालन गरिसकेका छन् । महानगरले तत्काल कुनै परीक्षा नलिन भने पनि संस्थागत विद्यालयहरूले आफ्नो अनुकूलमा परीक्षा लिइसकेका छन् ।
महाशाखाले यसअघि लिइएको पहिलो त्रैमासिक परीक्षाको प्राप्तांकलाई २० प्रतिशत, दोस्रोलाई ६० प्रतिशत भार दिन र बाँकी २० प्रतिशत अंक आन्तरिक मूल्यांकनबाट हाल्न भनिएको छ ।
प्रयोगात्मक मूल्यांकन भने यसअघिकै आधारमा गर्न भनिएको छ । बालविकास कक्षादेखि ३ सम्मको मूल्यांकन भने निरन्तर विद्यार्थी मूल्यांकनबाट गरिने नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।
महाशाखाले नतिजा प्रकाशन गर्दा भौतिकरूपमा उपस्थित नगरी वैकल्पिक माध्यमबाट गर्न भनेको छ । फेसबुक म्यासेञ्जर, अनलाइनका विभिन्न माध्यम तथा टेलिफोनबाट नतिजा जानकारी गराउन महाशाखाको निर्देशन छ ।
-कायाकैरनबाट
