काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक सेवामा पर्ने पेट्रोलियम पदार्थको निर्वाध आपूर्तिको व्यवस्था मिलाइदिन गृहमन्त्रालयलाई पत्र लेखेको छ।
काठमाडौं उपत्यकामा कडा निषेधाज्ञाको समयमा ग्यास बोकेका सवारी साधन, कर्मचारी र आयल निगमका समेत कर्मचारीलाई सुरक्षा निकायले रोकेपछि उद्योगले यो पत्र पठाएको हो। उपत्यकाका विभिन्न स्थानमा ग्यास बोकेका सवारी साधन रोकिएपछि आयल निगमले उद्योग मन्त्रालयलाई सहजीकरणका लागि पत्र पठाएको थियो। यो पत्रसँगै मन्त्रालयको उच्च अधिकारीले पहल थालेका थिए। ग्यास बोकेका सवारी साधन र कर्मचारी रोकिएपछि उद्योगीले बिक्री वितरणनै नगर्ने जानकारी गराएका थिए।
उपत्यकाका जिल्ला प्रशासन कार्यालयले ग्यास बोकेका गाडीलाई समेत राती ९ बजेदेखि विहान ९ बजेसम्म मात्रै चल्न पाउने निर्णय गरेपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल सहजीकरणका लागि बिहीबारदेखि नै दौडधुप गरेका थिए। शुक्रबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई काठमाडौं, ललितपुर र गृह मन्त्रालयसम्म ग्यास आपूर्ति रोकेमा असहज अवस्था आउने भन्दै कन्भिन्स गराउन सक्रिय भएका थिए। स्रोतका अनुसार भट्टराईको सक्रियताका कारण समेत ग्यास बोकेका सवारी साधन चल्न सुरु गरेका थिए। स्रोतका अनुसार उद्योगले पठाएको पत्रका आधारमा गृहले सुरक्षा निकायलाई परिपत्र गर्नेछ।
उद्योग मन्त्रालयको पत्रमा भनिएको छ- ‘जिल्ला प्रशासन कार्यालय, काठमाडौंले वैशाख १४ गतेबाट जारी गरेको ७ दिने निषेधाज्ञामा दैनिक उपभोग्य खाद्य वस्तुहरु एवं पेट्रोलियम पदार्थ लगायतको दैनिक अत्यावश्यक वस्तुहरुको सहज रूपमा आपूर्ति तथा बिक्री वितरण गर्ने सवारी साधनहरुको आवागमनमा सहजीकरण गरिदिन आदेशानुसार अनुरोध छ।’
मन्त्रालयले गृह मन्त्रालयलाई निषेधाज्ञामा दिइएको अधिकारको स्मरण गराएको छ। जसअनुसार सीमित संख्यामा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय चार्टर उडानहरुमार्फत निकासी गरिने वस्तुहरुको ढुवानीमा प्रयोग भइरहेका सवारी साधनहरुको गुड्न पाउनेछन्। यस्तै दैनिक उपभोग्य खाद्य वस्तुहरुको ढुवानीमा प्रयोग भइरहेका सवारी साधन संलग्न कामदार कर्मचारीहरुले आवागमन गर्न पाउनेछन्। पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, ग्यासका बुलेटहरु, ग्यासका सिलिण्डर बोकेका ट्रक तथा पिकअपले निर्वाध आवागमन गर्न पाउने उल्लेख छ।
यस्तै ग्यास सिलिण्डर भर्नको लागि उद्योगहरु दिउँसो सञ्चालन गर्नुपर्ने हुँदा उद्योगका प्राविधिक र अप्राविधिक कर्मचारीहरु आवतजावत गर्न पाउने उल्लेख छ। निगमले पहिले नै जारी गरेको पासलाई नै निरन्तरता दिन पत्रमा आग्रह गरिएको छ। खाली तथा भरी सिलिण्डर बोकेका ट्रक/पिकअप लोड अनलोड गर्ने प्रयोजनका लागि ग्यास पसल सञ्चालनको लागि मन्त्रालयले आग्रह गरेको छ। ग्यास उद्योगका कर्मचारीलाई आवतजावत गर्न दिन समेत मन्त्रालयले आग्रह गरेको छ।
यसैगरी ग्यास उद्योगका कर्मचारीहरुलाई निगममा पैसा जम्मा गराउने प्रयोजनार्थ बैंक आवतजावतमा सहजीकरण गर्न र सोको लागि उद्योगले जारी गरेको परिचय पत्र वा निगमले यस अघि उपलब्ध गराएको पासलाई निरन्तरता दिन आग्रह गरिएको छ। निगमको थानकोट, हवाई इन्धन डिपो सिनामंगलका कर्मचारीहरु तथा केन्द्रीय कार्यालयका आपूर्ति तथा अनुगमनसँग सम्बन्धित कर्मचारीहरुलाई आवतजावत गर्न निगमको पास वा परिचयपत्र अनुसार सहज गर्न गृहलाई आग्रह गरेको छ।
.jpg)
