काठमाडौं – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको बारपाकमा गाउँ नै संक्रमित भएर दर्जनको ज्यान गएको खबरले अत्यन्त मर्माहत भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत डा। भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत गोरखाको बारपाक गाउँमा कोरोनासँग मिल्ने लक्षण देखिएका बिरामी बढेको भन्दै परीक्षण गर्न नडराउन भनेका छन् ।
उनले जेठ १४ गते जिल्ला स्वास्थ्य कार्यालय,गण्डकी प्रदेश र जसपा लगायतका पार्टीको तर्फबाट त्यहॉ परिक्षण र अन्य स्वास्थ्य सामाग्री सहित पुग्ने टोलीलाई सहयोग गर्न पनि भनेका छन् । कोरोनाले पीडित भएका बारपाकी जनसमुदायमा यस्तो अवस्थामा पनि आफु उपस्थित हुननसकेकोमा उनले माफी मागेका छन् ।
उनले भने – ‘पहिले भूकम्प र अहिले कोरोनाले पीडित हुनुभएका बारपाकी जनसमुदायमा अपील । तपाईंको निर्वाचित प्रतिनिधि भएर पनि आफै कोरोना र पेटको अपरेसनका कारण थलिएर यो दुखको घडीमा उपस्थित हुननसकेकोमा क्षमाप्रार्थी छु’
उनले बारपाकी जनसमुदायलाई कोरोना परीक्षण गर्न नडराउन आग्रह गर्दै थाहा पाएमा उपचार हुने आश्वासन दिएका छन् ।

