काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) मा दुई अध्यक्ष छन् उपेन्द्र यादव र महन्थ ठाकुर । दुई अध्यक्षबीच कुरा नमिल्दा अहिले पार्टी विवाद चरम उत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको अध्यक्ष ठाकुरले समर्थन गर्दै आइरहेका छन् भने अर्का अध्यक्ष यादवले विरोध गर्दै आइरहेका छन् । अहिले दुई अध्यक्षबीचको विवाद कारबाहीसम्म पुगेको छ ।
यसैबीच अध्यक्ष यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चारजनालाई स्पष्टीकरण सोधेको छ ।
यसअघि गएको जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकको निर्णयानुसार तीन दिन भित्र जवाफ फर्काउन भन्दै स्पष्टीकरण सोधिएको थियो । तर ठाकुर पक्षले स्पष्टीकरणको जवाफ फर्काएन । जवाफ नआएपछि यादव पक्षले महन्थ पक्षलाई पुन स्पष्टीकरण सोधेको हो ।
केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले पठाएको स्पष्टीकरणमा अध्यक्ष ठाकुर, बरिष्ठ नेता महतो,लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । पत्रमा स्पष्टीकरण चित्तबुझ्दो नआएमा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।




