विराटनगर। कडा लकडाउनका कारण दूध तथा दूधका उत्पादनको बिक्रीमा कमी आएपछि पूर्वका डेरी उद्योगको उद्योगको कारोबारमा ६० प्रतिशतले कमी आएको छ।
बिक्रीमा ह्रास आएपछि दुग्ध विकास संस्थान अन्तर्गतको विराटनगरस्थित दुग्ध वितरण आयोजनाले संकलित कच्चा दूधको पाउडर उत्पादन गर्दै राख्तै गर्न थालेको छ।
आयोजना प्रमुख गणेश यादवका अनुसार पूर्वाञ्चलका विभिन्न जिल्लाबाट अहिले पनि संस्थानले दैनिक २५ हजार लिटर दूध संकलन गरिरहेको छ । यसबाहेक हेटौंडा र बुटवलबाट दैनिक ७ हजार लिटर दूध विराटनगर आइरहेकै छ।
‘बजारमा दूध र दूधजन्य उत्पादनको बिक्रीमा ६० प्रतिशतले कमी आएको छ,’ आयोजना प्रमुख यादवले भने, ‘त्यसैले उब्रिएको कच्चा दूधको हामीले पाउडर बनाउँदै राख्तै गरेका छौं ।’ गत वर्षको लकडाउनमा उत्पादित दुग्ध सामग्री नै गोदाममा थन्क्याइरहनु परेका बेला थप सामग्री उत्पादन गरेर थन्क्याइरहनु परेको उनले बताए।
विराटनगरस्थित आयोजनाको मात्र १३ करोडभन्दा बढीको २ सय ३७ मेट्रिक टन पाउडर दूध गोदाममा थन्किएको छ। त्यस्तै ३ करोड ५० लाख बराबरको ५० मेट्रिक टन नौनी र ८५ लाख बराबरको तयारी घिउ पनि गोदाममै थन्किएको छ। एकातिर आयोजनाका दुग्ध उत्पादन बिक्री नभएर गोदाममा थन्किएका छन् भने अर्कातिर किसानलाई ३ महिनादेखि भुक्तानी गर्न सकेको छैन । किसानको ११ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी भएको प्रमुख यादवले जानकारी दिए।
‘दुग्धजन्य उत्पादन बिक्री हुने मुख्य सिजन भनेको वैशाखदेखि असार गरी ३ वटा महिना हुन् किनकि लगातार ३ महिना विवाहका लगन पर्छन्,’ उनले भने, ‘साउनदेखि मंसिरसम्मको विक्री पनि निराशाजनक हुँदैन। तर कोभिड र लकडाउनका कारण गत वर्षको ३ महिना बिक्री ठप्प भयो । तीज, दसैं, तिहार र छठ पर्व पनि पहिलेझैं मनाइएन।’
उनले भने, ‘हामीले गत वर्षको विकराल घाटालाई यस वर्ष रिकभर गर्छौं भन्ने विश्वास गरेका थियौं तर यस वर्ष त त्योभन्दा ठूलो महामारीको सामना गर्नुपर्यो।’ यादवले बढी भएको दूध आयोजनाले पाउडर बनाउँदै राख्तै गरेको उल्लेख गरे। उनले लकडाउनयता दैनिक २ देखि ३ टन पाउडरको उत्पादन भइरहेको जनाए।
विराटनगरमा निजी क्षेत्रको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रीले सामान्य अवस्थामा दैनिक ६ हजार लिटर दूधको संकलन गर्दै आएको थियो। जसमध्ये १ हजार ५ सय लिटर दूधको पाउडर बनाएर ४ हजार ५ सय लिटर प्रशोधन गर्ने गर्दथ्यो। तर लकडाउन सुरु भएपछि दुग्ध विकास संस्थानको विराटनगरस्थित आयोजनाले निजी क्षेत्रका डेरीले ल्याएको दूधबाट हुने पाउडर उत्पादनलाई नियमित गर्न सकेको छैन।
आयोजनाका प्रमुख गणेश यादवले आयोजनामा संकलित दूधको पाउडर बनाउन नै नभ्याइने अवस्था भएकाले निजी क्षेत्रको दूधबाट पाउडर उत्पादन गर्न नभ्याइएको स्पष्ट पारे। भ्याएका दिनमात्र निजी क्षेत्रको दूधबाट पाउडर उत्पादन गर्ने गरिएको उनले उल्लेख गरे।
सूर्योदय डेरीका सञ्चालक मनोज यादवले प्रदेश सरकारसित निजी क्षेत्रको दूधबाट पनि पाउडर उत्पादन गर्ने सर्त राखेर आयोजनाले पाउडर प्लान्टको क्षमता विस्तारका लागि १० करोड रुपैयाँ लिएर मेसिन थपेको बताएका छन्।
‘आयोजनाले प्रदेश सरकारसित गरेको सम्झौता पूरा गर्नुपर्छ । पाउडर प्लान्टको क्षमता विस्तार भएपछि प्रदेश नम्बर १ मा मिल्क होलिडे हुँदैन भनेर प्रदेश सरकारले घोषणा गरेको थियो। तर उक्त घोषणा आवाजमै सीमित भएको छ,’ उनले भने, ‘आयोजनाले ४/५ दिनमा एक पटक पाउडर उत्पादन गरिदिने भएपछि हामीले नै किसानसित दूध लिन बन्द गरेका छौं । मिल्क होलिडे भइरहेको छ।’
आयोजनाले निजी क्षेत्रको दूधबाट हुने पाउडर उत्पादनलाई नियमित गरिदिने हो भने आफू पूर्ण क्षमतामा पूर्ववत् ६ हजार लिटर दूध संकलन गर्न तयार भएको उनले दाबी गरे ।
‘हाम्रो कारोबार ६० प्रतिशतले खस्किएको छ,’ उनले भने, ‘यही अवस्थामा सरकारी आयोजना हाम्रा लागि पूर्णतः फेभरेबल हुन सकेन । पाउडर बनाउने पालो ४-५ दिनमा एक पल्ट आएपछि दूध राख्न सकिन्न । क्वालिटी पनि खस्कन्छ।’
सरकारले बजारमा दूध र दुग्धजन्य उत्पादनको बिक्री गर्ने समयलाई बिहान ८ बजेसम्म बनाएकाले कारोबार खस्किएको उनले गुनासो गरे ।
झापाको काँकडभिट्टास्थित एनएमसी डेरीका अध्यक्ष रामचन्द्र उप्रेतीले यस वर्षको लकडाउन सुरु भएपछि एनएमसीको बजार ५० प्रतिशतले झरेको बताए ।
‘कोभिडको महामारी अघि हामी दैनिक १५ हजार लिटर दूध संकलन गथ्यौं,’ अध्यक्ष उप्रेतीले बिजमाण्डूसँग भने, ‘कोभिडको पहिलो लहरका बेला दैनिक १२ हजारदेखि १३ हजार लिटर संकलन गर्यौं। पहिलो लहर समाप्त भएपछि हाम्रो संकलन बढेर दैनिक १६ हजार लिटर पुगिसकेको थियो । तर दोस्रो लहर सुरु भएपछि दैनिक ६ हजार लिटरमा सीमित भएका छौं।’
उप्रेतीले दोस्रो पटकको लकडाउन सुरु भएपछि पनि एनएमसीले दैनिक १३ हजार लिटरसम्म दूध संकलन गरेको जानकारी दिए । ‘तर विराटनगरस्थित सरकारी आयोजनाले समयमा पाउडर उत्पादन गरिदिन सकेन,’ उनले भने, ‘हामीले यस अवधिमा पनि दैनिक ३ देखि ५ हजार लिटर दूधबाट पाउडर उत्पादन गरेर मिल्क होलिडे समाप्त पार्न सहयोग गर्ने प्रयास गरेका हौं तर सरकारी आयोजनाको अकर्मण्यताका कारण यो प्रयास सफल हुन सकेन ।’ एनएमसीको बजार प्रदेश १ का मोरङ, सुनसरी र झापा भएको उनले बताए ।
