काठमाडौं । चीनले नेपालका लागि दूत परिवर्तन गर्ने तयारी गरेको छ । नेकपाको एकतालाई जोगाउन नसकेपछि चीनले राजदूत होउ यान्छीलाई फिर्ता बोलाएर नयाँ दूत काठमाडौं पठाउने तयारी गरेको छ ।
साविक नेकपा आन्तरिक विवादमा फस्दा शीतल निवास, कोटेश्वर निवासदेखि खुमलटार निवाससम्म दौडधुप गरेकी राजदूत यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको हो। माओवादीलाई शक्तिशाली बनाउने चीनको रणनीतिअनुसार नेकपा एकतामा सक्दो प्रयास गरेकी यान्छीलाई अब फिर्ता बोलाउन लागिएको हो ।
सन् २०१८ डिसेम्बरमा काठमाडौं आएकी यान्छीले नेपालको राजनीतिप्रति चासो राख्दै नेताहरुको घरदैलोसम्म धाइरहेकी थिइन् । अघिल्लो वर्ष साविक नेकपामा केपी शर्मा ओलीको सरकार र पार्टीमा विकल्प खोजेर विवाद बढ्दा समाधानका लागि उनले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरुसँग भेटवार्ता गरेर नेकपाको एकताका लागि पहल गरेकी थिइन् । तर, यान्छीको प्रयास सफल हुन नसकेपछि गत १४ मंसिरमा चीनले उपमन्त्रीस्तरीय टोली काठमाडौं पठाएको थियो ।
तर, चीनको प्रयास असफलसिद्ध भयो । नेकपा खारेज भयो र एमाले र माओवादी केन्द्र ब्यूँतियो । अहिले सत्तारुढ नेकपा एमाले पनि विभाजनको संघारमा छ । नेपालको राजनीतिप्रति चासो राख्दै सशक्त रुपमा सक्रिय भएकी राजदूत यान्छीलाई फिर्ता बोलाएर चीनले नयाँ राजदूत पठाउने तयारी गरेको हो ।
शान्त र मौन रहने चीन यान्छीको नेपाल बसाइमा नेपालको राजनीतिप्रति खुलेर चासो राख्नेदेखि सोहीअनुसार चलखेल गर्ने गरेकी थिइन् । जसले भारतका लागि समेत टाउको दुखाइको विषय बनेको भनिन्थ्यो । यान्छीकै पालामा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भयो । कोरोनाभाइरस संक्रमण महामारीका बेला चीनले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गराउन पनि यान्छीको भूमिका रहँदै आएको छ ।
