काठमाडौं । सत्तारुढ नेकपा एमाले विभाजन रक्षाका लागि भगीरथ प्रयासमा छ । माधवकुमार नेपाल समूहलाई सहमतिमा ल्याएर पार्टी एकताको रक्षामा संस्थापन पक्ष लागिरहेको छ ।
पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा शीर्ष नेताहरु कारबाहीमा परिसकेका छन् । र पनि नेपाल समूहले एमालेइतर नेतालाई जिताउन र पार्टीको निर्देशन विपरीत अरु पार्टीको सरकारलाई समर्थन गरिरहेको छ ।
यसैक्रममा मंगलबार बस्ने एमालेको स्थायी कमिटी बैठकले पार्टी निर्देशनविपरीत कार्य गरेका भन्दै थप नेताहरुमाथि कारबाही गर्ने अनुमान गरिएको छ। तर, यसअघि सोमबार काठमाडौं होटेल याक एण्ड यतिमा दुवै समूहबीच छलफल भएको छ ।
पार्टी एकताको रक्षाका लागि संस्थापन पक्ष र नेपाल समूहमा नेताहरु सोमबार राति अबेरसम्म होटेलमा छलफल गरेका थिए । नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने र प्रतिनिधि सभा पुनर्स्थापित भएपछि गरिएका निर्णय खारेज गर्नुपर्ने माग गर्दै आएको छ ।
सोही माग सम्बोधन गर्ने गरी नेताहरुबीच छलफल भएको हो । छलफलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली र नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहमागी थिए ।
उनीहरुबीच कुनै सहमति भए नभए जानकारी दिइएको छैन । तर, मंगलबार एमाले बैठकले केही नेताहरुमाथि गरिने भनिएको कारबाही एक दुई दिनलाई रोक्ने सम्भावना रहेको बताइएको छ ।
यसअघि पनि ओली र नेपाल समूहबीच पटक पटक छलफल भइरहेको छ । तर, पार्टीलाई एकताबद्ध हुने गरी सहमति भने जुटिसकेको छैन ।
यसअघि पनि याक एण्ड यति होटलमा दुुवै समूहबीच छलफल भएको भोलिपल्टै नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर झनै सहमतिलाई सकसपूर्ण बनाएको थियो ।
पार्टीको ह्वीप उल्लंघनदेखि पार्टीविरुद्ध नै गतिविधि गरेको आरोपमा नेता माधवकुमार नेपालसहित ११ जनालाई एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेको छ ।
