काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक ढिलो गरी सुरु भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको सो बैठक दुुई घण्टा ढिलो सुरु भएको छ । उक्त बैठकले नेपाल समूहका थप नेतामाथि कारबाही गर्ने बताइएको थियो । तर, जारी बैठकमा सो एजेण्डा समावेश गरिएको छैन ।
एकाएक बालुवाटार नेपाल समूहसँग किन नरम भयो ? यसको कारण हो, सोमबार राति पार्टी एकताका लागि फेरि ओली समूहले नेपाल समूहका नेताहरुसँग वार्ता गरेको थियो ।
यसर्थ अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेपाल समूहका थप नेतामाथिको कारबाहीको एजेण्डा समावेश नगरिएको हो ।
सो बैठकमा पार्टी एकताको प्रयास, बजेट, जसपासँगको पछिल्लो छलफलसहितका विषयमा पनि छलफल हुनेछ । सोमबार राति वार्ता गठन गठित कार्यदलमा आवद्ध सदस्यहरुसँग गरेको छलफल सकारात्मक भएपछि जारी बैठकमा नेपाल समूहका नेताहरुमाथि कारबाहीको एजेण्डा नबनाइएको हो ।
पार्टी अनुशासन उल्लंघन गरेकोलगायतका आरोपमा माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।
यस्तै सोही आरोपमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, दिपकप्रकाश भट्ट र विरोध खतिवडालाई एमालेले स्पष्टीकरण सोधिएको छ । तर, उनीहरुले जवाफ दिएका छैनन् ।
