काठमाडौं । तत्कालीन सत्तारुढ दल नेकपाको रोग अहिले जनता समाजवादी पार्टी नेपालमा सरेको छ । जसपाको अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुर समूहलाई कारबाही गरेपछि मंगलबार जसपाभित्रको विवाद उत्कर्षमा पुुगेको छ ।
अध्यक्ष यादवले पहिलो वरियताका अध्यक्ष ठाकुरसहित चार शीर्ष नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएपछि जसपाभित्र भाँडभैलो भएको छ ।
यादव पक्षको बहुमत रहेको कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासन गरेको निर्णय गर्दै आयोगलाई जानकारी गराएको हो ।

यादव समूहको उक्त निर्णय भएलगत्तै ठाकुर समूहको पनि बैठक बसेको छ । उक्त बैठकले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाउँदै निष्कासन गरेको निर्णय गरेका हुन् ।
यसअघि साविक नेकपाभित्र पनि ओली समूह र प्रचण्ड–नेपाल समूहले एकअर्कालाई कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगमा पत्र बुुझाएका थिए । अहिले सोही रोग जसपामा पनि देखिएको हो ।
जसपाको महन्थ ठाकुर समूहले ओली सरकारलाई समर्थन गर्दै आएको छ भने उपेन्द्र समूह ओली सरकारको विकल्प खोजिरहेको छ ।
