काठमाडौं। दुई दिन घटेपछि बुधबार सेयर बजारले सानदार ‘बाउन्स ब्याक’ गरेको छ। कारोबार रकममा पनि सुधार देखिएको छ।
बजारले ‘आफ सेञ्चुरी’ मार्दै ११ अर्ब २२ करोड ९४ लाख रुपैयाँको किनबेच भएको छ। दिनभरीमा बजार ५५.७६ अंकले बढेर २८२७ अंकमा उक्लिएको छ।
आइबार केही बढेपनि सोमबार र मंगलबार बजार घटेको थियो। निषेधाज्ञा लम्बिएर अर्थतन्त्र ठप्प हुँदा पनि बजारले त्यसलाई वेवास्था गर्दै बुधबार फराकिलो छलाङ मारेको हो।
सामूहिक लगानी कोषबाहेक सबै सूचक उकालो लागेको छ। घटिरहेको लघुवित्त समूह पनि ६९ अंकले माथि गएको छ। बैंक तथा वित्तीय संस्थाका साथै बीमा समूहले पनि छलाङ मारेको छ।
राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २३ हजार ५९४ रुपैयाँ पुगेको छ। सानिमा माइ हाइड्रोमा पनि बढेर सर्किट लाग्दा मूल्य ५०६ रुपैयाँ पुगेको छ। मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्यमा पनि बढेर सर्किट लागेको छ।
समग्र बजार बढ्दा राधि जलविद्युत, बिशाल बजारलगायतको मूल्य झरेको छ। नेपाल रिइन्स्योरेन्स एक्लैको एक अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ। यसपछि निर्धन उत्थानको ३३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
