काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । बेलायती सञ्चार माध्यम डेली मेल पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला परेको दाबी गरेको हो । यसबारे बीबीसी न्यूज यूकेले पनि चर्चा गरेको बीबीसी नेपाली अनलाइन संस्करणले समाचार छापेको छ ।
‘नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरियन्ट ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने सामाचारमा दाबी गरिएको छ’, बीबीसी नेपाली संस्करणले लेखेको छ ।
नेपालबाट सुरु भएको ठानिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युरोपमा फैलिसकेको र यसमा कोभिडविरुद्धको खोपले पनि काम गर्न नसक्ने वैज्ञानिकले आशंका गरेका छन् । यसबारे बीबीसीले समाचारमा लेखेको छ, ‘नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशङ्का रहेको समाचारमा लेखिएको छ।’
तर, यसबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आफूलाई जानकारी नरहेको जवाफ दिएको छ । डब्लूएचआको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियन्ट फेला परेको कुराबारे आफूहरुलाई अवगत नभएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
तर, यसबारे नेपालका स्वास्थ्य अधिकारीहरुले चासो व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधबारसम्म बेलायतले उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही प्राप्त नभएको बताएको बीबीसले समाचारमा लेखेको छ ।
‘नेपालबाट फर्केका बेलायती नागरिकमा कुनै नयाँ भेरियन्ट नदेखिएको हामीलाई जानकारी गराइएको छ’, प्रवक्ता पौडेलको भनाइ उद्धृत गर्दै बीबीसी नेपालीले लेखेको छ, ‘मैले पनि त्यो समाचार आएको देखेपछि त्यसलाई उद्धृत गर्दै यूकेको नियामक निकायलाई के–कसो हो भनेर सोधेको छु। त्यसबारे हामी थप बुझिरहेका छौँ। डब्लूएचओले पनि अहिलेसम्म ’भेरियन्ट अफ कन्सर्न’ भनेर नेपालमा त्यस्तो कुनै नयाँ भेरियन्ट देखिएको भनेको छैन । हाम्रो आधिकारिक जानकारीमा पनि छैन ।’
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म यूकेमा देखिएको अल्फा भेरिअन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको छ।
