काठमाडौं। सिटिजन्स बैंकका ग्राहकले घरै बसिबसि २ लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन्।
बैंकले एफवान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकका सुविधाका लागि “पेडे लोन” नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ।
बैंकको मुख्य कार्यालयमा आयोजित एक भर्चुअल कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्यूटरमा क्लिक गरी “पेडे लोन” योजना सार्वजनिक गरेका छन्।
बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँसम्म मोबाइल बैकिङ्गबाट “पेडे लोन” सुविधा पाउने छन्।
कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु पर्ने छैन। ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न“पेडे लोन” सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा प्रमुख कार्यकारी पोखरेलले बताए।
बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने उनले बताए।
‘आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले “पेडे लोन”योजना संचालनमा ल्याइएको हो,’ उनले भने।
बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा सुरु गरिसकेको छ। यसबाहेक मोबाइल बैंकिङ्गको पिन नम्बर बिर्सिएमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ।
