काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा छन् । रिक्त सात मन्त्रालयमा पद पूर्ति गर्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै विभिन्न नेताहरु मन्त्री बन्ने लिष्टमा चर्चामा रहेका छन् । विशेष गरी रक्षा र गृहमन्त्री को बन्दैछन् भन्ने चासो बढि देखिन्छ ।
गृहमन्त्री बन्नेमा विभिन्न जनाको नाम चर्चामा आइरहँदा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्वडीआईजी नवराज सिलवालको नाम चर्चामा छ ।
रामबहादुर थापा बादल पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रीमा सिलवालसहित प्रदीप ज्ञवाली, खगराज अधिकारी र महेश बस्नेतको नाम चर्चामा छ ।
तर, सिलवालको सम्भावना बढी रहेको स्रोतको दाबी छ । महेश बस्नेत गृहमन्त्रीमा नभएर सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुने भएका छन् । गृहमा सिलवाल र सञ्चारमा बस्नेतको नाम अग्रपंक्तिमा छन् ।
चुनावी प्रचारका क्रममा प्रधानमन्त्री ओलीले सिलवाललाई गृहमन्त्री बनाउने बचन पनि दिएका थिए । अहिले सोही बचन पूरा गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेका हुन् ।
नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका सिलवाल गृहमन्त्री र महेश बस्नेतको सञ्चार मन्त्री बन्ने निश्चितप्रायः भइसकेको छ । यद्यपि, बीचमा कुनै केही फेरबदल नभएमा उनीहरु मन्त्री बन्ने पक्का भइसकेको स्रोतको भनाइ छ ।
