काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा विनाविभागीय जिम्मेवारीमा राखेका महासचिव ईश्वर पोखरेललाई शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा समेटेनन् । अर्थात उनलाई मन्त्रीमा दोहोर्याएनन् । सरकारबाट बाहिरिएका पोखरेल पार्टीको काममा लाग्ने बताइएको छ ।
स्वयं पोखरेलले पनि आफू पार्टी काममा लाग्ने र पार्टीको एकता रक्षामा आफ्नो भूमिका रहने बताएका छन् । तर, अध्यक्ष ओलीबाट उनलाई निर्णायक भूमिका पाउनेमा आशंका छ । पार्टी र सरकारबाट कामबिहीन बनाउँदै लगिएका पोखरेलले सक्रिय र निर्णायक रुपमा काम गर्ने वातावरण अध्यक्ष ओलीबाट पाउनेमा धेरैले आशंका गरेका छन् ।
२०७१ सालमा भएको नवौँ महाधिवेशनमा ओली अध्यक्षमा र पोखरेल महासचिवमा निर्वाचित भए । तर, माओवादी केन्द्रसँगको पार्टी एकतापछि गठन गरिएको नेकपामा पोखरेलाई महासचिवको जिम्मेवारी नदिएर उनीभन्दा कनिष्ठ विष्णु पौडेललाई दिइएको थियो । यसको चौतर्फी आलोचना पनि भएको थियो ।
२०७४ फागुन ३ मा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्मा समेट्दा पोखरेललाई रक्षा मन्त्रालय दिए । तर, उनी गृह, अर्थजस्ता ठूलो मन्त्रालयको जिम्मेवारी सम्हाल्न चाहन्थे । उपेन्द्र यादवसँग मर्यादा मिलाउन मात्रै प्रधानमन्त्री ओलीले पोखरेललाई २०७५ जेठमा उपप्रधानमन्त्रीमा बढुवा गरेका थिए । । बाध्यात्मक अवस्थामात्रै उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका पोखरेललाई २०७७ असोजमा रक्षा मन्त्रीबाट हटाएर विना विभागीय बनाइयो । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा राखेर भूमिकाबिहीन बनाइयो ।
यता गत फागुन २३ गतेको सर्वाेच्च अदालतको आदेशपछि नेकपा खारेज भयो र माओवादी र एमाले ब्यूँतियो । फेरि ईश्वर पोखरेल महासचिवमै रहे । तर, उनलाई महासचिवको भूमिका निर्वाह गर्न भने अध्यक्ष ओलीले रोकेको चर्चा चल्दै आएको छ । एमालेको बैठकका निर्णय लेख्ने अधिकार महासचिव पोखेरलबाट खोसेर प्रदीप ज्ञवालीसहितका नेताहरुलाई दिएको एमालेका नेताहरु बताउँछन् ।
पार्टीमा अधिकार र कामबिहीन बनाइएका पोखरेललाई गत शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट हटाएका छन् । कामबिहीन अवस्थामा उपप्रधानमन्त्रीको मात्रै जिम्मेवारीमा रहेका पोखरेललाई हटाएर उनको स्थानमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अरु नेतालाई अघि सार्न थालेका हुन् ।
पार्टी र सरकार दुवैमा सुरुवातबाट पोखरेललाई कामबिहीन बनाउने गरी प्रधानमन्त्री ओली अघि बढ्दै आएको देखिन्छ । महासचिवको जिम्मेवारी पौडेललाई दिँदा होस् वा अघिल्लो वर्ष रक्षा मन्त्रीबाट हटाएर आफ्नो कार्यालयमा सिमित बनाउँदा किन नहोस्, प्रधानमन्त्री ओलीले सुस्त रुपमा पोखरेलमाथि कारबाहीको रुपमा जिम्मेवारीबाट हटाएको देखिन्छ । रक्षा मन्त्री हुँदा उनी विवादमा पनि परेका थिए । ओली मन्त्रिपरिषद्मा विवादमा पर्ने मन्त्रीमा पोखरेल मात्रै होइनन् । तर, जिम्मेवारबिहीन ईश्वर पोखरेललाई मात्रै बनाइएको हो ।
सरकारबाट बाहिरिएका महासचिव पोखरेललाई पार्टीको काम गर्न अध्यक्ष ओलीबाट कस्तो सरसहयोग र भूमिका रहनेछ, यसैले नै यसअघिका घटनालाई थप पुष्टि वा खण्डन गर्नेछ ।
