काठमाडौं । जनमतबाट शक्तिशाली बनेको सरकार र सत्तारुढ दल छिन्नभिन्न बनेर राजनीतिक अस्थिरता निम्तिएका बेला मुलुकप्रति गम्भीर घात हुन लागेको खबर सार्वजनिक भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको सार्वजनिक रुपमा बताएका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा पत्रकार राजेन्द्र बानियाँसँगको कुराकानीक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराई मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूलाई आएको र यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्षनेताहरुलाई समेत जानकारी गराएको बताएका हुन् ।
मुलुकप्रति घात हुन लागेको बताएका उनले कस्तो किसिमको घात हो भन्नेबारे केही खुलाएनन् । आफूलाई पाएको सूचना अहिले नबताउने जिकीर गरेका उनले पछि उपर्युक्त दिनमा सार्वजनिक गर्ने जानकारी दिए ।
‘मसँग भएका सूचना मैले कुनै दिन नेपाली जनतालाई बताउनुपर्छ । यो देशको कुर्सीमा बसेको प्रधानमन्त्री ओलीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो’, अन्तर्वार्ताका क्रममा डा. भट्टराईले भनेका छन् ।
गत पुस ५ गतेदेखि यही जेठ ८ गते प्रतिनिधि सभा विघटन हुँदासम्म मुलुकभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइनअनुसार भएको उनको दाबी छ ।
