काठमाडौं । प्रदेश २ को सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी हुने भएपछि मन्त्रालय फुटाएर भागबण्डा मिलाउन थालिएको छ ।
केन्द्रीय राजनीतिकले असर गरेको प्रदेश २ को सरकारले समर्थन जुटाउन कांग्रेस र माओवादीलाई मन्त्रिपरिषद्मा सहभागी गराउन लागेको हो ।
प्रदेश २ मा जनता समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम)ले सरकारको नेतृत्व लिइरहेको छ । तर, केन्द्रमा जसपाबीचको विवादले प्रदेश २ को सरकारमा असर गरेको छ । जसपाको महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको केन्द्रीय सरकारमा सहभागी भयो ।
जसपाका मन्त्रीहरुले सपथ खाँदा नखाँदै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर हानिएर प्रादेशिक सरकारबाट महन्थ समूहका मन्त्रीहरुलाई हटाएका छन् । अध्यक्ष यादवको सल्लाहअनुसार मुख्यमन्त्री लालबाबु राउतले महन्थ समूहका मन्त्री हटाएका हुन् । मन्त्री बर्खास्त गर्दा कांग्रेस र माओवादी केन्द्रको साथ रहेको थियो ।
मुख्यमन्त्री राउतले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन चारवटा मन्त्रालय फुटाउन खोजेका छन् । कांग्रेसले तीन र माओवादीले दुई मन्त्रालय मागेपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारी भइररहेको छ । यसबारे बुधबार टुंगो लगाउन गरी छलफल गरिएको छ ।
कांग्रेसबाट संसदीय दलका नेता रामसरोज यादव र माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ । तर, अन्तिम टुंगो लागिसकेको छैन ।
