काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले नेता स्वास्थ्य उपचारका लागि बुधबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् । उनको उपचार प्रक्रिया सुरु गरिएको छ । गत सोमबार नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराएका नेता खनाल थप उपचारका लागि बुधबार नयाँ दिल्ली पुुगेका हुन् ।
उनी भारत जानुअघि महासचिव ईश्वर पोखरेल भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । नेता खनाल र पोखरेलबीचको भएको कुराकानीको सार्वजनिक भिडिओमा खनाल शैयामा बसेर गफ गरेको देखिन्छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा आफू उपचारका लागि दिल्ली जान लागेको र पार्टी एकताको पक्षमा काम गर्न खनालले आग्रह गरे । साथै दिल्ली जानुअघि खनालले प्रेस वक्तव्य जारी गरेर जनताको चाहनाविपरीत पार्टी अघि बढेकोकाले अब रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकताबद्ध पार्न सबै नेता तथा कार्यकर्तामा अपील गरे ।
‘जनताको चाहना र अपेक्षा विपरित हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ । देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामी सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु’, खनालले जारी गरेको सो वक्तव्यमा उल्लेख छ ।
तर, खनालको सो वक्तव्यलाई नेपाल समूहका नेताहरुले आधारिकतामै शंका व्यक्त गर्न थालेका छन् । खनालको भेरिफाइड फेसबुक पेजबाट सार्वजनिक गरिएको वक्तव्यलाई आधिकारिकतामाथि नै नेपाल समूहका केही नेताहरुले शंका व्यक्त गरेका हुन् ।
सो वक्तव्य जारी गरेर खनाल दिल्ली पुग्दा नपुग्दै नेपाल समूहमा खैलाबैला मच्चिएको नेताहरु बताउँछन् । ओलीइतर समूहमा रहेर प्रधानमन्त्री ओलीको कटुआलोचकको परिचय बनाएका खनालको विचारसँग सार्वजनिक वक्तव्यमा उल्लेख भएका विचारसमेत मेल नखाने नेपाल समूहका नेताहरुको तर्क छ ।
नेपाल समूहका नेता जगन्नाथ खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘श्वास प्रश्वासमा समेत गाह्रो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन । उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ ।’
खनालको वक्तव्यको पूर्णपाठ यस्तो छ :
आदरणीय दिदि बहिनी तथा दाजुभाईहरु,
उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु ।
देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ । राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु ।
हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो । सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेको छ । तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।
देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु ।
धन्यवाद !

