काठमाडौं – भारतका चर्चित धावक मिल्खा सिंहको निधन भएको छ । उनको शुक्रबार राति ९१ वर्षको उमेरमा निधन भएको हो ।
फ्लाइङ सिखको नामले चिनिएका सिंहको कोरोना भएपछि चण्डीगढको एक अस्पतालमा निधन भएको भारतिय मिडियामा बताइएको छ । उनको निधनको खबरले बलिउडकर्मी दु:खी भएका छन् ।
बलिउड अभिनेता अमिताभ बच्चन, प्रियंका चोपडा, अनिलकपुर, अक्षयकुमार लगायतका कलाकारले सामाजिक सञ्जालमार्फत उनको निधनमा दु:ख व्यक्त गरेका छन् । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले पनि दु:ख व्यक्त गरेका छन् ।
उनको निधन हुनु ५ दिन अघि पत्नी निर्मल मिल्खा सिंहको पनि निधन भएको थियो । मिल्खा भारतका मात्र नभई एशियाकै चर्चित खेलाडी हुन् ।
उनले एशियाली खेलकुद र कमनवेल्थ खेलकुदमा स्वर्ण जितेका थिए । उनले सन् १९५८ मा जापानमा भएको एशियाली खेलकुदमा २ सय मिटर र ४ सय मिटरको दौडमा स्वर्ण जितेका थिए ।
