नवलपुर । नवलपुरमा जारी निषेधाज्ञा पुन थप गरिएको छ । भोलि राति १२ बजेदेखि सकिनै लागेको निष्ोधाज्ञा असार ११ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनील जानकारी दिनुभयो । आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोभिडको दोस्रो लहरको संक्रमण दर कम भएपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गर्न सिफारिस गरिएको थियो ।
सोही सिफारिस अनुसार निषेधाज्ञा थपिएको हो । निषेधाज्ञामा यस अघिकै आदेशहरु कर्यान्वयन हुने भएको छ । तर असार ११ गतेपछि भने निषेधाज्ञा विस्तारै खुकुलो बनाउँदै लगिने तयारी गरिएको छ । निषेधाज्ञा थप भएको यो समयभित्र व्यापार व्यवसाय संचालनको पूर्व तयारीका लागि व्यवसायीहरुको एन्टीजेन परीक्षण गरिने भएको छ ।
त्यसका लागि स्वास्थ्य कार्यालयले किट उपलब्ध गराउने र स्थानीय तहसँग आवश्यक किट मागेर उद्योग वाणिज्य सघले समन्वय गरी कोभिड १९ परीक्षण गर्ने निर्णय भएको हो । त्यस्तै मनसुनको समय भएकाले विपदमा खटिने सरोकारवाला निकायका पदाधिकारीलाई अव प्राप्त हुने कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्ने, पेट्रोलियम पदार्थ ढुवानीमा कार्यरतहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउन प्राथमिकतामा राख्ने निर्णय भएको छ ।
अवदेखि विभिन्न संघसंस्थाबाट प्राप्त हुने अक्सिजन कन्सन्ट्रेटर जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गर्ने र आवश्यकता अनुसार स्थानीय तहहरुलाई त्यहीबाट वितरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जानकारी दिएको छ । ।
