चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार १७ गते सम्म निषेधाज्ञालाई थप गरेको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन जिल्लामा समेत अझैसम्म उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले असार १७ गते राती १२ बजे सम्मको लागि जिल्लाभर लागुहुने गरि निषेधाज्ञा थप गरेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जनाए अनुसार अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर निस्कन पाइने छैन । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी , सेमिनार, तालिम, जात्रा र महोत्सव समेत संचालन गर्न रोक लगाइएको छ । साथै सिनेमाहल, पार्टी प्यालेस जिमखाना सैलुन, पार्लर, बिद्यालय, कलेज संचालनमा समेत रोक लगाइएको छ । विवाह, बतबन्ध घरैबाट बढीमा १५ जना उपस्थित भई गर्न पाईनेछ । मृत्यु संस्कारमा २५ जना बढी सहभागी हुन पाईने छैन ।
आज रातीबाट लागु हुने निषेधाज्ञामा इलेक्ट्रिकल , इलेक्ट्रोनिक पसल, भाँडा, फेन्सी ,कम्प्युटर ,कस्मेटिक तथा गिफ्ट पसल हप्तामा तीन दिन संचालन गर्न पाइने छ ।
यस्तै सुन चाँदी पसल , फिर्नीचर, प्रेस तथा फोटोकपि पसल हरु समेत आइतबार , मंगलबार र बिहिवार दिउँसो १२ देखि ४ बजे सम्म खोल्न पाइने आदेश जारी भएको हो।
अक्सिजन , औषधि ,तथा स्वास्थ्य सामाग्रीका पसलहरु पुर्ण रुपमा यसअघि झै संचालन गर्न पाइने छ ।
यस्तै तरकारी, किराना, फलफूल, डेरि, माछामासु, अन्डा, चल्ला, दाना, एग्रोभेट, बिउबिजन, रासायनिक मल, ग्यास पसलहरु दैनिक बिहान ६ देखि १० बजे सम्म खोल्न पाइने छ । डेरिको हकमा भने बेलुका ५ देखि ७ बजे सम्म संचालन गर्न पाइने भएको छ । यस्तै निजि सवारी साधनको हकमा बढीमा ५० प्रतिशत यात्रु चडि जोर बिजोर अनुसार संचालन गर्न पाइने छ ।
चितवनमा मंगलबार सम्म सकृय संक्रमीत १२७७ रहेका छन मृत्यु हुने २७० पुगेका छन । यस्तै जिल्लाका विभिन्न अस्पतालमा ८१ जनाको आइसियुमा उपचार भइरहेको छ ।



