काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केहि दिन अघि राजाको बारे दिएको अभिव्यक्तिले चौतर्फी चर्चा चलेको छ । प्रचण्डको उक्त अभिव्यक्तिलाई फरक फरक कोणबाट विश्लेषण समेत गर्न थालिएको छ ।
राजसंस्था विरुद्द आन्दोलन गरेर गणतन्त्र स्थापनामा मुख्य भूमिका पुर्याएका प्रचण्डको अभिव्यक्तिले माओवादीको आन्दोलनमा हिंडेकाहरुलाई चोट पुगेको छ । प्रचण्डले राजा चाहियो त भनेका होइनन् तर राजा फ्याक्न गरेको आन्दोलन माथी घात भएको विश्लेषकदेखि माओवादीका कार्यकर्ताहरुले मुल्यांकन गरेका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ सधै आफू राजनीतिको केन्द्रमा रहेर बसिरहने बानी परेकाले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण आफ्नो भूमिका जता त्यतै खुम्चिएको अवस्था आएपछि प्रचण्डले बेला बेला होष गुमाएर विवादित हुने अभिव्यक्ति दिन थालेको पाईएको छ । कहिले भारत के सहयोग गरेन भनेर खुलेर भन्ने देखि ‘कम्फ़र्टेबल सरकार’ बारे अभिव्यक्तिले प्रचण्ड आत्तिएको प्रष्टाएको छ । कम्न्युष्ट आन्दोलन गरेका प्रचण्ड अहिले आएर कम्न्युष्टको सरकार हटाएर कांग्रेसलाई बोकेर हिड्नुपर्ने अवस्थादेखि राजालाई गुहार्ने सम्म अवस्था किन सिर्जना भयो भन्ने बारे चर्चा गर्न अहिले जरुरी छ ।
प्रचण्डले आफ्नो स्वार्थका कारण माओवादीका आफ्ना प्राय सहकर्मीहरुलाई टाढा बनाएका छन् । डा. बाबुराम भट्टराईदेखि मोहन वैध सम्म जसको बलमा गणतन्त्र स्थापना गर्न सफल भए तर सरकार र पावरको खेलमा प्रचण्डले आफ्नो साथी छोडेर भएपनि राजनीतिको केन्द्रमा आफूलाई सधै राखी नै रहे । प्रचण्ड सधै राजनीतिको केन्द्रमा रहेकाले पनि उनले धेरैलाई प्रधानमन्त्री बनाउन सहयोग गरे तर हरेक सहयोगमा आफ्नो स्वार्थ भने पूर्ति नै गरिरहे ।
आफूसंग भएका साथीहरु पाखा लागेपछि प्रचण्डमाथी ठूलो चुनौती थियो कि माओवादी केन्द्रलाई कसरी संधै केन्द्रमा राख्ने । एमालेका अध्यक्ष केपी शर्मा ओलीले छोटो समयमा देशभरि बटुलेको चर्चाले प्रचण्ड आत्तिएका पनि थिए । नेपाली कांग्रेस अनि एमालेपछि आफ्नो पार्टी हुने भएपछी पार्टी एकता गरेर नेकपा गठन गर्न राजी भए तर केहि सर्तहरु समेत राखे । आफू प्रधानमन्त्री हुने देखि पार्टीको नेतृत्व आफूले गर्न पाउनु पर्ने सर्तमा केपी शर्मा ओलीसंग सहमति गरे ।
नेकपा गठन भयो र दुई तिहाईको सरकार पनि बन्यो तर केपी ओलीले प्रचण्डलाई हालीमुहाली गर्न दिएनन् । सायद प्रचण्डले केपी ओलीको चतुर्याई बुझ्न नसकेर सुरुवातीमा हरेक कुरा माने तर केपी ओलीले प्रचण्डको विगतको नियति बुझेर त्यहि अनुरुप पार्टी संचालन गरे । हेर्दाहेर्दै प्रचण्डले न नै प्रधानमन्त्री हुने मौका नै पाए न नै पार्टीको नेतृत्व गर्न पाए ।
त्यसपछि प्रचण्डले सरकार गठन भएको अढाई वर्ष पछि नेकपा भित्र गुठ बनाउन थालेर केपी ओली माथि दबाब सिर्जना गर्न थाले । तर केपी ओली डगमगाएनन । प्रचण्डले हरेक कोशिष गरे पार्टी भित्र केपी ओलीलाई घुंडा टेकाउन तर हरेक कोशिषमा ओली एक कदम अगाडी नै रहे । आखिर राजनीति त हो एकले अर्कालाई लडाउने र आफू कुर्सीमा बस्ने कसरत हुन्छ नै त्यहि अनुरुप केपी ओली प्रचण्ड भन्दा एक कदम अघि नै रहे ।
माधव नेपाल जसले एमाले पार्टी मा १५ वर्ष सम्म महासचिव भएर राज गरेका थिए जुन केपी शर्मा ओली अध्यक्ष भएपछि एमालेमा माधव नेपालको हालीमुहाली कम हुँदै गयो । माधव नेपाल रुष्ट थिए भने बामदेव गौतम प्रधानमन्त्री बन्न जसको पनि समर्थन गर्न तयार थिए । यहि एमाले भित्रको अन्तरसंघर्षमा प्रचण्डले खेलेर केपी ओली माथी दबाब दिए तर पनि केपी ओलीलाई हल्लाउन सकेनन् । प्रचण्डलाई उल्टै झट्का दिन छोडेनन् ओलीले ।
प्रचण्डले नेकपा भित्र बसेर आफूलाई केन्द्रमा राख्न नसकेपछि आफ्नै पार्टीको प्रधानमन्त्री विरुद्द अविश्वासको प्रस्ताव राख्न समेत तयार भए । तर प्रधानमन्त्री ओलीले प्रचण्ड भन्दा एक कदम अघि रहेर संसद विघटन गरिदिए । प्रचण्ड र माधव नेपाल संग ओलीको सम्बन्ध फ़ाटीयो ।
प्रचण्डले आफूलाई केन्द्रमा राख्न प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउनु थियो जसका लागि माधव नेपाल समूहलाई आफ्नो हातमा लिए र नेपाली कांग्रेसलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखे । नेपाली कांग्रेस मात्र नभएर जसपाका शिर्ष नेताहरुलाई समेत प्रधानमन्त्री बन्न अफर गरे । गठबन्धनमा अहिले कांग्रेसलाई प्रधानमन्त्री बनाउने अनि त्यसपछि बार्गेनिंग गरेर फेरि आफू केन्द्रमा रहने कोशिष गरेका प्रचण्डले फेरि पनि ओलीलाई गलाउन सकेनन् ।
प्रचण्डले भारतदेखि अरु मित्र देशहरु संग पनि सहयोग मागे तर केपी ओलीले प्रचण्ड भन्दा अघि नै आफ्नो सम्बन्ध सुमधुर बनाएर आफ्नो समर्थनमा राखिसकेका थिए । फेरि प्रचण्ड ओली भन्दा एक कदम पछाडी नै रहे । केपी ओलीलाई हराउन प्रचण्डले हरेक कदम चाल्न तयार रहेको देखिन्छ र केपी ओली नहटे सम्म प्रचण्डको हालीमुहाली नचल्ने भएपछी प्रचण्डले राजा नै ठिक जस्तो अभिव्यक्ति सम्म दिन पुगे ।
प्रचण्डले केपी ओली हटाएर आफू केन्द्रमा रहन कांग्रेस, जसपा देखि राजा सम्म गुहार्न पुगेको विश्लेषकहरुको ठम्याई रहेको छ ।
